गृहपृष्ठ हाइड्रो एक्स्पो शनिबारदेखि, विदेशी स्टल पनि राखिने
हाइड्रो एक्स्पो शनिबारदेखि, विदेशी स्टल पनि राखिने
शनिबारदेखि आयोजना हुने ‘हिमालयन हाइड्रो एक्स्पो २०२२’ मा विभिन्न विदेशी कम्पनीहरुलेसमेत स्टल राख्ने भएका छन् । एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक/वित्त कम्पनीहरु लगायत सयभन्दा बढी स्टल बुकिङ भइसकेको जानकारी दिइएको छ ।
एक्स्पोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरुको सहभागिता रहने बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिइएकाे हाे । ‘क्रियटिङ मार्केटस् फर नेपाल्स हाइड्रोपावर’ भन्ने नाराका साथ आयोजना गरिएको यस हाइड्रो एक्स्पोले नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपतमा वृद्धि गर्न र विदेशमा निर्यात गर्न बजारीकरणको ठूलो ज्ञान र सूचना प्राप्त हुने छ भन्ने अपेक्षा लिइएको छ ।
एक्स्पो अवधिभर प्रत्येक दिन हाइड्रो पावरसम्बन्धी विषयगत ६ वटाभन्दा बढी टेक्निकल सेसन सञ्चालन तथा अन्तर्क्रिया सञ्चालन गरिने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्नेगरी हाइड्रो पावरसम्बन्धी वस्तु तथा सेवाको नयाँ अवधारणाबारे विद्यार्थीहरु एवं व्यक्तिगत तवरबाट आविष्कार गरेका वस्तु तथा सेवाबीच प्रतिस्पर्धा समेत गराइने छ । त्यस्तै हाइड्रो पावर क्षेत्रमा ड्रोनको आवश्यकता र यसको उपयोगिता के कसरी हुन्छ र गर्न सकिन्छ भनी ड्रोन भिडियाे बनाउने प्रतिस्पर्धासमेत आयोजना गराउने भएकाे छ ।
एक्स्पोमा ऊर्जासँग सम्बन्धित नयाँ प्रविधिका साथै हाइड्रो पावरमा रोबोटर्सको भूमिका विशेष आकर्षण बन्ने आयोजकले विश्वास लिएको छ । विश्वकै पहिलो हाइड्रोपावर रोबोटिक कम्पिटिशन हाइड्रोकन २.० मा हाइड्रोपावरमा काम लाग्ने रोबोटहरुका साथै टनेल चेकिङ र इन्स्पेक्शन जस्ता काममा समेत सहायता प्रदान गर्ने रोबोटहरुको प्रतिष्पर्धा एक्स्पोमा हुनेछ ।
एक्स्पो अवलोकनका लागि आएका इच्छुक अवलोकनकर्तालाई हेलिकप्टरमार्फत हाइड्रोपावर आयोजनाहरुको भ्रमण गराउने व्यवस्था गरिएको छ । जलविद्युत लगानीकर्ता, उत्पादक, इन्जिनियरलगायत यस क्षेत्रमा चासो दिने सबैका लागि यो एक्स्पो जानकारीको केन्द्र बन्ने र यसले राष्ट्रको ऊर्जा विकासमा टेवा पुर्याउने आयोजककाे विश्वास छ ।
त्यसैगरी प्रत्येक दिन एक्स्पो अवलोकनकर्ताहरुमध्ये १० जनालाई गोला प्रथाका माध्यमबाट विद्युतीय चुलो वितरण गरिने छ । एक्सपोमा ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
प्रकाशित समय : ०१:४६ बजे



















