गृहपृष्ठ स्किल विक सम्पन्न, ४ विधामा नबिल स्किल हिरोको घोषणा
स्किल विक सम्पन्न, ४ विधामा नबिल स्किल हिरोको घोषणा
ग्लोकल प्रालिको आयोजनामा ग्लोकल आफ्टर स्कुलले स्किल विक २०२२, तेस्रो संस्करण समापन समारोह आइतबार द सोल्टी होटेलमा सम्पन्न गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा समापन गरिएको समारोहमा उद्यमीहरू, सरकारी कूटनीतिज्ञहरू, र १०० बढी इच्छुक उत्साही उपस्थित थिए ।
एक हप्ते कार्यक्रममा विभिन्न सीपमूलक तालिमलगायत सीपयुक्त कार्यशाला, तालिम, केस स्टडीलगायत मनोरञ्जनलाई ध्यानमा राखी सीपलाई विभिन्न आयामबाट प्रस्तुत गर्ने कोशिस गरिएको थियो । कलकारखाना, शैक्षिक संस्था एवं सरकारी निकायसँगको साझेदारीको लक्ष्य लिई तीनै क्षेत्रबाट सीपमूलक रोजगारीका अवसर, बढ्दोे सीपप्रतिको महत्व, व्यापार, सेवा, आधुनिक प्रविधिदेखि कला तथा संस्कृति झल्किने किसिमले सीपको महत्व उजागर गर्ने लक्ष्यसहित कार्यक्रम गरिएको हो । स्किल विक कार्यक्रम २१ मार्चदेखि २७ मार्चसम्म सञ्चालन भएको थियो । कार्यक्रममा ४ फरक सीप क्षेत्र प्रदर्शन गरिएको थियो जसमा कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतिथ्य, विज्ञान तथा प्रविधि रहेका थिए ।
यिनै चार विधामा चार अत्यन्त प्रेरणादायी व्यक्तित्वहरुलाई नबिल स्किल हिरो अवार्ड २०२२ उपाधिबाट सम्मानित गरिएको थियो । पहिलो स्तम्भ अर्थात् पर्यटन र आतिथ्यका लागि सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष/एमडी लक्ष्मण न्यौपानेलाई सम्मान गरिएको थियो । त्यसैगरी कला र संस्कृतिको क्षेत्रमा गरेको समर्पणका लागि किरण मानन्धरलाई पनि सम्मान गरिएको थियो । उनी विगत पाँच दशकदेखि नेपालमा समसामयिक कला क्षेत्रमा प्रख्यात छन् ।
उद्यमशीलता विधामा लक्ष्मी वुड क्राफ्ट उद्योगका संस्थापक तथा उद्यमी लक्ष्मी शर्मालाई उद्यमशीलताको क्षेत्रमा योगदान पुर्याएको भन्दै पुरस्कृत गरिएको कम्पनीले जनाएको छ । विज्ञान र प्रविधि क्षेत्रका लागि, तिलगंगा आँखा संस्थानका संस्थापक र दृष्टिविज्ञ नेत्र रोग विशेषज्ञ सन्दुक रुइतलाई सानो चिरा मोतियाविन्दुको शल्यक्रिया गरेर अफ्रिका र एसियाभरका १ लाख ८० हजारभन्दा बढी मानिसको आँखाको ज्योति पुनर्स्थापना गर्ने प्रयासको लागि सम्मान गरिएको थियो । नबिल स्किल हिरो सस्टेनेबल बैंकिङ अवार्ड सुयल बखरा फर्मबाट एकराज सुयललाई सम्मान गरिएको थियो ।
समापन समरोहमा सीईवो अनप्लग्ड २०२२ नामक भव्य कार्यक्रम सञ्चालन गरिएको थियो । जसमा व्यापारका चुनौती, अवसर एवं प्रयोगात्मक शिक्षाको महत्व एवम नव आगन्तुक व्यापारका पारखीहरुलाई मार्गनिर्देश प्रदान गर्न २ प्यानेल छलफल सञ्चालन गरिएको थियो । सीइओ अनप्लग्डको पहिलो प्यानल छलफल ‘रिथिंकिङ स्ट्राटेजिज फर सस्टेनेबल ग्रोथ ब्यालेन्सिङ प्रायोरिटिज’ एवं दोस्रो प्यानलमा छलफल ‘शेपिङ द फ्युचर अफ एक्सिलेरेटेड स्किल्स ट्रान्सफरमेसन’ शीर्षकमा आयोजना गरिएको थियो ।
कार्यक्रमको बीचमा राष्ट्रिय केस स्टडी प्रतियोगिताको फाइनल प्रस्तुति पनि सम्पन्न गरिएको थियो । कार्यक्रम नबिल बैंकसँगको साझेदारीमा सञ्चालन भएको थियो । साथै रणनीतिक साझेदारका रूपमा बागमती प्रदेश, भारतीय राजदूतावास लगायतका संघसंस्था आवद्ध थिए ।
प्रकाशित समय : २०:१४ बजे

















