काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

काठमाडौं फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

1.26K
shares

काठमाडौं । भारतीय अभिनेत्री शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रका चर्चित व्यक्तित्व सहभागी हुने काठमाडौं फिल्म फेस्टिभल कात्तिक १३ देखि १५ गतेसम्म आयोजना हुने भएको छ । काठमाडौं महानगरपालिकाले आयोजना गर्न लागेको महोत्सवमा नेपाली तथा विदेशी चलचित्र प्रदर्शनसँगै अन्तरसंवाद, मास्टर क्लास, सम्पदा यात्रा र अवार्ड समारोहसमेत हुनेछन् ।

काठमाडौंको प्राचीनता, मौलिकता, संस्कार, संस्कृति, परम्परा तथा मूर्त, अमूर्त र अभिलेखीय सम्पदाको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको महानगरपालिकाले जनाएको छ । पुराना पुस्ताका चलचित्रकर्मीलाई सम्मान गर्दै नयाँ पुस्तामा कला र सिर्जना हस्तान्तरण गर्नुका साथै काठमाडौंका ओझेलमा परेका कथा तथा स्थानीय जीवनशैलीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु महोत्सवको अर्को उद्देश्य हो ।

महोत्सवमा सहभागी विदेशी चलचित्रकर्मीले नेपाली कलाकार, निर्माता, वितरक, प्रवद्र्धक, प्रदर्शक तथा चलचित्र अध्ययनरत विद्यार्थीसँग विभिन्न कार्यक्रममा अन्तरक्रिया गर्नेछन् । अभिनेत्री शबाना आजमीले कात्तिक १४ गते नेपाल पर्यटन बोर्डमा आयोजना हुने ‘चलचित्र, महोत्सव र सार्थक जीवन’ विषयक अन्तरसंवादमा सहभागिता जनाउनेछिन् । त्यस्तै, दीप्ति डीकुन्हाले ‘सिर्जनात्मक सहरहरूको प्रवद्र्धनका लागि फिल्म र महोत्सव’ विषयक प्यानल छलफलमा भाग लिने कार्यक्रम छ ।

जापानी निर्देशक ताकायुकी नाकामुराले कात्तिक १४ गते राष्ट्रिय सभागृहमा जापानको यामागाता युनेस्को फिल्म सिटीबारे प्रस्तुति दिनेछन् । कात्तिक १५ गते पर्यटन बोर्डमा प्राध्यापक मार्को मुलरले ‘ग्लोबल साउथ र अन्तर्राष्ट्रिय महोत्सवबीच चलचित्र सौन्दर्यशास्त्र’ विषयमा मास्टर क्लास सञ्चालन गर्नेछन् । सोही दिन ‘नेपाली चलचित्र उद्योगको विगत, वर्तमान र भविष्य’ विषयमा प्यानल छलफल पनि हुनेछ ।

महोत्सवको उद्घाटन कात्तिक १३ गते वसन्तपुरमा सम्पदा यात्रासहित हुनेछ । कात्तिक १५ गते राष्ट्रिय सभागृहमा रेड कार्पेट कार्यक्रम, पुरानो नेपाली चलचित्र ‘के घर के डेरा’ को प्रदर्शन र अवार्ड समारोह आयोजना गरिनेछ ।

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ ।

महोत्सवको अन्तर्राष्ट्रिय पानोरामाअन्तर्गत विभिन्न देशका समकालीन, स्वतन्त्र तथा सांस्कृतिक विविधता प्रस्तुत गर्ने चलचित्र प्रदर्शन गरिनेछन् । सूचीमा चिनियाँ चलचित्र ‘डियर यु’, भारतीय चलचित्र ‘बयान’, अस्ट्रेलियाली चलचित्र ‘मिस एन प्लेस’, अस्ट्रेलिया–मंगोलियाली चलचित्र ‘स्टेयर्स’, अमेरिकी चलचित्र ‘इन्च्यान्टेड म्याटर, द आर्ट अफ रोबर्ट पावेल’, फ्रान्सेली चलचित्र ‘ला ग्राभिडा’, कोरियाली चलचित्र ‘द किङ्स वार्डेन’, सिंगापुर–भारतीय चलचित्र ‘नट अ हिरो’, जर्मनी–अफगानिस्तानको ‘नो गुड मेन’ र अमेरिकी चलचित्र ‘द गडफादर’ रहेका छन् ।

समापनका अवसरमा नेपाली–अमेरिकी–फ्रान्सेली–अस्ट्रेलियाली चलचित्र ‘प्राइभेट प्रपर्टी’ प्रदर्शन गरिनेछ । जापानको यामागाता युनेस्को क्रिएटिभ सिटी अफ फिल्मबाट आएको लघु चलचित्र ‘भ्यू पिपुल, भ्यू सिटिज’ पनि महोत्सवमा देखाइनेछ ।

महोत्सवको ‘नेपाल पानोरामा सट्र्स’ अन्तर्गत नेपाली परिवेशमा स्थानीय नवप्रतिभाले निर्माण गरेका चलचित्र, लघु चलचित्र तथा वृत्तचित्र प्रदर्शन गरिनेछन् । महानगरपालिकाले गरेको खुला आह्वानमा प्राप्त ७५ चलचित्रमध्ये १० वटा छनोट गरिएको छ । छनोट भएका प्रत्येक चलचित्रलाई १ लाख रुपैयाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ ।

छनोट भएका चलचित्रमा सरिता शाहको ‘मानकी’, सुदर्शन योञ्जनको ‘अशुभ अष्टमी’, श्यामबहादुर लिम्बूको ‘डुअर्स आर स्टिल क्लोज्ड’, पूर्णबहादुर गुरुङको ‘अ लेटर इन विन्टर’, लाक्पा छोडेन लामाको ‘होम इज नट अ प्लेस’, राजेशप्रसाद खत्रीको ‘चुम्पा : अ डल अन्डर द बास्केट’, अलिन कट्टेलको ‘साप्सु : अ सोलेम प्रमिस’, आकाश धिमालको ‘नार’ र सर्जुन राईको ‘मारिछा’ रहेका छन् ।

त्यस्तै, ‘माई कल्चर, माई हेरिटेज’ शीर्षकमा आयोजित युवा भिडियो चुनौतीमा प्राप्त ३५ भिडियोमध्ये ११ वटा छनोट भएका छन् । प्रतियोगितामा प्रथम हुनेले १ लाख ५० हजार, द्वितीय हुनेले १ लाख र तृतीय हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।