काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पूर्वी पहाडको गन्तव्य मुन्दुम पदमार्ग

1.76K
shares

भोजपुर । सरकारको एक सय पर्यटन गन्तव्यमा सुचीकृत मुन्दुम पदमार्ग । यो पदमार्गलाई पूर्वी पहाडको भर्जिन गन्तव्यकारुपमा पनि लिने गरिन्छ । आन्तरिक र बाह्रय पर्यटन प्रवर्धनमा पनि यस पदमार्गले चर्चा पाएको छ ।

यो पदमार्गलाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत थप चिनाउन बाहिरी ११ वटा मुलुकका श्रष्ठाहरुको सहभागितामा बृहत् अन्तर्राष्ट्रिय सम्मेलन समेत गरिएको थियो । मुन्दुम पदमार्गलाई विश्वभर चिनाउँदै पर्यटन, स्वरोजगार र आयआर्जन मार्फत पूर्वी नेपालको मात्र होइन समग्र राष्ट्रकै चर्चित पदमार्गमा विकास गर्ने उद्देश्यसहित आफूहरू लागि परेको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए ।

अध्यक्ष बस्नेतले भने, ‘प्राकृतिक सुन्दरता, जैविक विविधता र किराँत समुदायको मौलिक परम्परालाई एकैसाथ प्रवद्र्धन गर्दै पदमार्गलाई विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा अघि बढाइएको हो ।’ विभिन्न महोत्सवहरू सहित पालिकाले मुन्दुम पदमार्गको बारेमा विश्वव्यापी प्रचारप्रसार गर्दै आई रहेको छ ।

भोजपुर र खोटाङ जोडने मुन्दुम ट्रेलको सुरुवातसँगै आन्तरिक र बाह्रय पर्यटकहरूको आवागमन समेत बढ्दै गएको छ । फुर्सदलाई सदुपयोग गर्दै आफ्नो परिवार, साथीभाइसँग टेम्केडाँडा सहित मुन्दुम पदमार्ग घुम्न आउने पर्यटकका लागि यो क्षेत्र अहिले रोजाइको बनेको छ । घुम्दै जाँदा यस क्षेत्रमा होमस्टे, गोठस्टेहरु पनि सञ्चालन भएको र थपिने क्रम समेत बढेकोले यो क्षेत्र प्रमुख गन्तव्य बनेको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर २, छिनामुखुमा सञ्चालनमा रहेको गोठेसिं होमस्टेका सञ्चालक प्रकाश राईले बताए । यो होमस्टे सदरमुकामबाट करिब ४० किलोमिटर पश्चिममा पर्छ ।

भोजपुर र खोटाङको सिमानामा रहेको मुन्दुम पदमार्गको चखेवाडाँडा यहाँबाट नजिकै रहेको तीन हजार एक सय ३१ मिटरको उचाइमा रहेको टेम्केडाँडाबाट पर्यटन क्षेत्रको गन्तव्य मानिन्छ । सुन्दर टेम्केडाँडा चुचुरोबाट तराईका सुन्दर हरिया फाँटहरू, कञ्चनजंगा, मकालु लगायत उत्तरतर्फ सेताम्मे मनोरम हिमशृङ्खला, सुन्दर हरिया डाँडाखर्क, खोटाङको दिक्तेल र भोजपुर सदरमुकाम र अनगिन्ती प्राकृतिक सुन्दरताको भरपुर मनोरञ्जन लिन सकिने भएकाले यो डाँडामा पुग्ने सङ्ख्यामा पनि बढ्दै गएको छ ।

मुन्दुम पदमार्गमा क्षेत्रमा गोठ राखेर बसेका कृषकहरूको बसोबास हुने गरेको छ । यहाँ खुलेका गोठस्टेहरुमा स्थानीय परिकारहरू चौँरीको दूध, फापर, कोदो, गहुँको ढिँडो, लोकल कुखुरा, रायो, आलु, सिमीलगायत स्थानीय उत्पादनलाई प्राथमिकतामा राखिएको छ । यस क्षेत्रको पदयात्रामा आन्तरिक तथा बाह्य देश अमेरिका, कोरिया, जर्मनी, स्पेन, क्यानडा लगायत क्षेत्रका पर्यटकहरू आउने गरेको र उनीहरूले स्थानीय उत्पादनलाई मन पराएको गोठस्टे सञ्चालकहरूको भनाई छ ।

प्राकृतिक सुन्दरता र पारिवारिक वातावरणमा रम्न चाहनेहरूका लागि विभिन्न स्थानहरूमा सञ्चालित होमस्टेहरू प्रभावकारी बन्दै गएको विराटनगरबाट यो क्षेत्र घुम्न आएका सुनिल निरौलाले बताए । उनले भने, ‘वास्तवमा प्रचारमा रहेजस्तै मुन्दुम पदमार्ग आकर्षण छ, यो क्षेत्रमा पुग्ने जोसुकैलाई पनि त्यहाँको वातावरणले आनिन्दत बनाउछ ।’

खोटाङको साकेला गाउँपालिकाको तावाभन्ज्याङबाट सुरु हुने पदमार्ग भोजपुरको टेम्केडाँडा, चखेवाभञ्ज्याङ, धोदे्र, हाँसपोखरी, जुके, याकुले हुँदै लैरे, रावाधाप, साल्पापोखरीबाट पुनः मैयुङ भएर एकरोत, बाघखोर हुँदै भोजपुर फर्कन सकिन्छ । उक्त पदमार्ग यात्रा पूरा गर्न नेपालीलाई पाँचदेखि नौ दिन लाग्ने र विदेशीका लागि १० देखि २० दिनसम्म लाग्ने स्थानीयको धारणा छ ।

छोटो दुरीको यात्रा भने तीनदेखि पाँच दिनमै पूरा गर्ने सकिन्छ । आन्तरिक तथा बाह्य पर्यटनसँग जोडिएको मुन्धुम पदमार्गको विकास र प्रवर्धनका लागि स्थानीय, प्रदेश र संघीय सरकारले विशेष कार्यक्रम सञ्चालन गर्न सकेमा प्रमुख गन्तव्य नै यो मार्ग हुने छ ।

सम्बन्धित पालिकाहरूको समन्वय र सहकार्यमा स्विस सरकारले पदमार्गमा क्षेत्रमा भौतिक संरचना निर्माण लागि सहयोग गर्दे आई रहेको छ ।