global ime bank Long Banner Ad

गृहपृष्ठ विश्व मौसम दिवस

विश्व मौसम दिवस

विश्व मौसम दिवस

विश्व मौसम संगठन स्थापना भएको दिन (मार्च २३, सन् १९५०)को सम्झनामा हरेक वर्ष मार्च २३ लाई विश्व मौसम दिवस को रुपमा मनाउने गरिन्छ । बुधबार नेपालमा पनि 'पूर्वसूचना र पूर्वतयारी' भन्ने मूल नाराका साथ विविध कार्यक्रम आयोजना गरी विश्व मौसम दिवस, २०७८ मनाइएको छ ।

यस वर्षको विश्व मौसम दिवसको मूल विषय 'प्रारम्भिक चेतावनी र प्रारम्भिक कार्य: प्रकोप जोखिम न्यूनीकरणको लागि जल मौसम विज्ञान र जलवायु जानकारी' रहेको छ । यसले विपद् जोखिम न्यूनीकरणका निम्ति जल-मौसम र जलवायुको पूर्वसूचना तथा त्यसैअनुसारको पूर्वतयारीको अपरिहार्यतालाई जोड दिँदै विश्व समुदायको ध्यानाकर्षण गराएको छ ।

दिवसका अवसरमा बुधबार जल तथा मौसम विज्ञान विभागद्वारा आयोजित कार्यक्रममा मौसम, जलवायु र जल विज्ञानका विविध क्षेत्रमा आबद्ध व्यक्तित्व, संघसंस्था र सरोकारवाला निकायका विज्ञहरुले मौसमी पूर्वसूचना र तयारीसँगै सम्भावित क्षतिबारे सजग हुन आवश्यक रहेकामा जोड दिएकाे छ । जल तथा मौसम सेवाको उत्पादन र प्रयोगलाई अभिवृद्धि गर्दै दिगो विकास एवं समृद्धि र विपद् जोखिम न्यूनीकरणमा योगदान पुर्‍याउन सवै सरोकारवालाबीचको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्ने विज्ञहरुको धारणा छ ।

कार्यक्रममा जल तथा ऊर्जा आयोगका सचिव दिनेशकुमार घिमिरेले आगामी दिनमा नारा अनुसारको प्रभावकारी काम गर्नुपर्ने आवश्यकता रहेकाे बताउँदै पूर्वतयारीका सूचनाका सम्बन्धमा थप काम गर्नुपर्ने बारेमा सुझाव दिए । उनले बाढी पहिरो र वर्षाको जस्तै सुक्खा र खडेरीका बारेमा समेत पूर्वसूचना प्रवाह गर्नुपर्नेमा जोड दिए । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सागरकुमार राईले विभागले गर्दै आएको पूर्वसूचना प्रणालीमा नयाँ र आधुनिक प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिए । उनले जनतासमक्ष सूचना प्रवाहका लागि सञ्चारमाध्यमको सहयोग अपरिहार्य रहने उल्लेख गरे ।

जलवायु परिवर्तनको कारणले जल तथा मौसमजन्य विषम घटनाहरु हावापानी, जलवायु र अति वर्षाका बारम्बार अस्वभाविकरुपमा घट्ने तथा विगतको भन्दा थप विनासकारीरुपमा देखा पर्ने र मौसमी चक्रको प्राकृतिक स्वरुपमा समेत परिवर्तन भइरहेको देखिन्छ । नेपालमा पनि अत्यधिक गर्मी, सुक्खा-खडेरी, भारी वर्षा, शीतलहर, चट्याङ, बाढीजस्ता मौसमी प्रकोपका विपद्मा बढोत्तरी भइरहेको छ ।

जीवन र जीविकोपार्जनलाई यस्ता विपद्का जोखिमको संकटबाट बचाउन प्रभावमा आधारित पूर्वानुमानसहितको पूर्वसूचनाको अत्यन्त महत्व छ । यस्ता सूचना तथा पूर्वानुमान सर्वसाधारण र विपद् व्यवस्थापनमा सम्बद्ध निकायहरुका लागि विपद् जोखिमको न्यूनीकरण तथा रोकथाम, पूर्वतयारी र प्रतिकार्यका निमित्त कोसेढुंगा सावित हुने गर्दछन् । सही समयमा सही पूर्वानुमान र सूचनाको सम्प्रेषण तथा त्यसको प्रयोग गर्न सदैव तयार रहन र सक्षम हुन सकेमात्र जल तथा मौसमजन्य प्रकोपवाट जनधनको सुरक्षा गर्न सकिन्छ ।

विभागले पूर्वसूचना प्रदान गर्ने, जल, मौसम जलवायु र जलवायु परिवर्तनसम्बन्धी तथ्यांक प्रदान गर्ने र जोखिमयुक्त हिमनदी तथा हिमतालको नियमित अनुगमनका साथै जलवायु तथ्यांकलाई अद्यावधिक राख्ने काम गर्दै आएको छ । साथै नदी जलाधारमा आवश्यक जलमापन र मौसम मापन केन्द्रहरुको विस्तार गर्न र जल तथा मौसमजन्य प्रकोपको अनुगमन, पूर्वानुमान तथा पूर्वसूचना प्रणालीकोे थप विकास र विस्तारलाई उच्च प्राथमिकता राखेको विभागले जनाएको छ ।

प्रकाशित समय : २३:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु