गृहपृष्ठ देशभर तापक्रम बढ्दो मात्रामा, सजग रहन विज्ञको आग्रह
देशभर तापक्रम बढ्दो मात्रामा, सजग रहन विज्ञको आग्रह

नेपालमा पछिल्लो दिनहरुमा तापक्रम बढ्दो मात्रामा रहेकाले सजग हुन विज्ञहरुले सुझाएका छन् । सोमबारसम्म मौसम विज्ञान विभागको रेकर्ड अनुसार ३९ वटा केन्द्रमा ३० देखि ३५ डिग्री तापक्रम रेकर्ड भएको तथा एउटा केन्द्रमा भने ४० डिग्री तापक्रम रेकर्ड भएको उल्लेख गरेका छन् । केही दिन तापक्रम निरन्तर बढ्नसक्ने विभागले जनाएकाे छ ।
जलवायु विज्ञ डा.उप्रेतीले तराईमा ४० डिग्री वा सोभन्दा बढी तापक्रम पुग्यो भने र पहाडमा ३० डिग्री भन्दामाथि तापक्र पुगेको अवस्थामा तातो हावा आउने उल्लेख गरे । जलवायु विज्ञ डा.धर्मराज उप्रेतीले पछिल्लो समय नेपालमा तापक्रम वृद्धि भइरहेको बताए ।
नेपालमा केही दिन यसको सम्भावना भएकाले सर्तक रहनुपर्नेमा उनले जोड दिए । तातो हावा चलेको अवस्थामा पर्यावरण सुख्खा रहने, कम पानी पर्ने हुँदा प्रदुषण बढ्ने र ठुलो वेगको हावा चल्दा भौतिक संरचनाहरुमा क्षति पुग्नासक्ने उनले बताए ।
उनले यस्तो अवस्थामा सर्वसाधारणलाई पूर्व सुचना दिनु आवश्यक रहेको बताए । तापक्रम वृद्धि भई अत्याधिक हावा चल्ने हुँदा कृषि प्रणालीमा समेत असर पर्ने भएकाले सजग हुनुपर्ने उनले बताए । जलवायु विज्ञ डा.उप्रेतीले पछिल्लो समय नेपालमा जलवायु परिवर्तनको असर तिव्र रुपमा देखा परिरहेको बताए ।
प्रकाशित समय : १९:०१ बजे