गृहपृष्ठ भीम रावलमाथि देउवाको आक्रोश : उसबेला दिमाग खुस्किएको थियो ?
भीम रावलमाथि देउवाको आक्रोश : उसबेला दिमाग खुस्किएको थियो ?
नेकपा (एमाले) नेता भीम रावलले अमेरिकी सहयोग परियोजना एमसीसीको विरोध गरेकोप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले आक्रोश व्यक्त गरेका छन् । नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासकीय भवनको साेमबार उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले रावललाई 'दुईजिब्रे'काे संज्ञा दिए ।
आफू रक्षामन्त्री हुँदा एमसीसी संसदमा लैजान निर्णय हुँदा मौन बस्नेले अहिले विरोध गर्नुको अर्थ नभएको देउवाले बताए । उनले भने, ‘एमसीसी संसदबाट पास गर्नुपर्छ भनेर ओलीजीले संसदमा पेश गर्नुभएको हो । त्यस बेलाको अर्थमन्त्री उहाँकै पार्टीको हुनुहुन्छ । भीम रावल अहिले विरोधमा बोल्दै हुनुहुन्छ । उहाँ त्यसबेला रक्षामन्त्री हुनुहुन्थ्यो ।’
रावलप्रति आक्रोश पोख्दै देउवाले भने, ‘आफू मन्त्री हुने बेलामा पास गर्ने खोज्ने ? खिलाप थियो भने त्यस बेला किन राजीनामा गरेनन् ? गल्ती थियो भने। त्यस बेलामा के हेरेर बसे ? खिलाप थियो भने राजीनामा गरेर बाहिर किन सकेनन् ? त्यस्तो दुई जिब्रे बन्न पाइन्छ ?' उनले एमसीसी आफूले पास गराउन खोज्दा किन टाउको दुख्यो भन्दै प्रश्न गरे । देउवाले भने, ‘अरूलाई टाउको दुखेको छैन, भीम रावललाई टाउको दुख्यो । उसबेला दिमाग खुस्किएको थियो ? थाहा छैन भन्ने ठान्नुहुन्छ यहाँ ? तपाई मन्त्री हुनुहुन्थ्यो अहिले बोल्दा लाज छैन ?’
प्रकाशित समय : १९:४४ बजे



















