आइएमई जनरल इन्स्योरेन्सद्वारा थप २ वटा सेवा सुरु, के-के छन् सुविधा ?
वि.सं.२०७८ फागुन २३ सोमवार २२:४८
shares
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले थप दुईवटा सेवा सुरु गरेको छ । कम्पनीले आइजीआइ हेल्थप्लस बिमालेख र आइजीआइ इजी क्यासलेस क्लेम सेटलमेन्ट सेवा सुरु गरेको हो ।
१. आइजीआई हेल्थपल्स बिमालेख
आइएमइ जनरल इन्स्योरन्स लिमिटेडले दुर्घटना, स्वास्थ तथा घातक रोगको लागि एउटै छाताभित्र समेट्ने गरी आइजीआइ हेल्थ प्लस बिमालेख ल्याएको हो । यस बिमालेखअन्तर्गत परिवारको सम्पूर्ण सदस्यको एउटै बिमालेखअन्तर्गत दुर्घटना बिमा, औषधि उपचार बिमा र घातक रोग बिमा समावेश गरिएको कम्पनीले उल्लेख गरेको छ ।
क. दुर्घटना बिमा
यस बिमालेखअन्तर्गत बिमालेखको अवधिभर कुनै पनि समयमा बीमित सदस्यहरुलाई कुनै बाहिरी तथा देख्न सकिने माध्यमबाट हुन गएको दुर्घटनाको प्रत्यक्ष कारणबाट मृत्यु वा कुनै शारिरीक अंगभंग हुन गएमा बिमालेखमा उल्लेखित ५ लाखदेखि १५ लाख रूपैयाँ सीमा सम्मको सुविधाहरु प्रदान गरिनेछ ।
ख. औषधोपचार बिमा
यस बिमालेखअन्तर्गत बिमालेखको अधीनमा रही सो अवधिभर कुनै रोग लागेमा वा दुर्घटना भई शारीरिक चोटपटक लागेमा, त्यस्तो रोग र चोटपटकको उपचारको लागि अस्पताल भर्ना भई गरिने उपचार खर्च १ लाखदेखि ५ लाखसम्म नगदरहित वा सोधभर्ना दुवै तरिकाबाट दावी भुक्तानी गरिनेछ ।
ग. घातक रोग
यस बिमालेखअन्तर्गत बिमालेखको अधीनमा रही बिमा अवधिभित्र बिमालेखमा उल्लेखित वा कुनै प्रकारका घातक रोगको लागि करार जारी भएको ९० दिनको प्रतिक्षा अवधिपश्चात बीमित सदस्यहरुलाई कुनै घातक रोगहरु लागेको चिकित्सकबाट प्रमाणित भएमा बिमांक रकम ५ लाख रूपैयाँ तुरुन्त भुक्तानी गरिनेछ ।
– परिवारको हकमा श्रीमान-श्रीमती र सन्तान समेटिने छ । सन्तानको उमेर २ देखि २४ वर्षसम्म, अविवाहित तथा रोजगारी नभएको हुनुपर्ने ।
– ५० वर्षभन्दा माथिका व्यक्तिको घातक रोग विरुद्धको रक्षावरणका लागि अनिवार्य मेडिकल सर्टिफिकेट पेश गर्नुपर्नेछ ।
– बिमालेख जारी गरिएको मितिले औषधोउपचार बिमाअन्तर्गत ३० दिनको, घातक रोगको लागि ९० दिनको र Maternity को लागि ९ महिनाको Waiting Period लाग्ने छ ।
– औषधोपचार बिमालेखअन्तर्गत नेपाल र चिकित्सकको परामर्शमा भारतमा उपचार गर्न सकिने छ ।
– यस बिमालेख अन्तर्गत हुलदंगा, हड्ताल, नागरिक उपद्रव, द्वेशपूर्ण कार्य, आतंकवाद तथा विध्वंसात्मक कार्यजस्ता क्रियाकलापबाट हुन सक्ने दुर्घटना पनि समावेश गरिएको छ ।
– यस बिमालेखअन्तर्गत दावी भुक्तानी गर्दा नगदरहित वा सोधभर्ना दुवै तरिकाबाट दावी भुक्तानी गरिनेछ ।
२. आइजीआइ इजी क्यासलेस क्लेम सेटलमेन्ट
यो सेवा हाललाई काठमाडौं उपत्यकाभित्र लागू हुनेछ । कम्पनीबाट आफ्नो निजी सवारी साधनहरुको बिमा गरेका ग्राहकहरुले कुनै पनि किसिमको दुर्घटना परी सवारी साधनको क्षति भएमा गुह्येश्वरी मार्गस्थित स्पार्क अटोकेयर प्राइभेट लिमिटेडको सहकार्यमा निम्नानुसारको सहज सेवा प्राप्त गर्न सक्ने गरी यो सेवा सुरू गरिएको छ । यस अवसरमा स्पार्क अटोकेयरका अध्यक्ष रोशन घिमिरे तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरी सेवाको सुरुवात गरेका हुन् ।
कम्पनीबाट बिमा भएको चारपांग्रे निजी सवारी साधनको दुर्घटना हुन गई सवारीसाधन क्षति हुन गएमा वा तेस्रो पक्षको निजी सवारी साधन क्षतिग्रस्त भई मर्मतसम्भार गर्नुपर्ने भएमा स्पार्क अटोकेयरको मर्मत केन्द्रमा उक्त क्षतिग्रस्त सवारी साधन मर्मतसम्भारको लागि लगिएमा, सो मर्मतसम्भारबापत लाग्ने खर्च बिमा कम्पनीले स्पार्क अटोकेयरलाई सिधै भुक्तानी गरी लामो दावी प्रक्रियालाई सहज, सरल र झन्झटमुक्त बनाउने उदेश्यले यो सम्झौता गरिएको कम्पनीले जनाएको छ ।
(क) यु रजिष्ट्रार
आइएमई जनरल इन्स्योरेन्सले उपलब्ध गराएको मोबाइल नम्बरमा फोन, एसएमएस, भाइबर, ह्वाट्सएपमार्फत दुर्घटनाको जानकारी गराउन सकिनेछ । यसको विवरण कम्पनीको वेबसाइट र फेसबुक पेजमा उपलब्ध रहनेछ ।
(ख) वि पिकअप
क्षतिग्रस्त सवारी साधनलाई दुर्घटना स्थलबाट गुहेश्वरीस्थित स्पार्क अटोकेयर प्रालिको सर्भिस सेण्टरसम्म तानेर लानुपर्ने भएमा कम्पनीलाई जानकारी प्राप्त भएको २४ घण्टाभित्र स्पार्क अटोकेयरले आफ्नै खर्चमा क्षति भएको सवारी साधनलाई मर्मतको लागि लिएर जानेछ ।
(ग) यु रिल्याक्स
सवारी साधन सर्भिस सेण्टरमा पुर्याएपश्चात स्पार्क अटोकेयरबाट दुर्घटनाग्रस्त सवारीको जाँच गरी सवारी धनीलाई कुन मितिमा सवारी साधन फिर्ता गर्ने सो मितिको जानकारी दिइनेछ । मर्मत सम्भारपश्चात बिमालेखमा तोकिएको सीमासम्मको रकम कम्पनीले सिधै सर्भिस सेण्टर कम्पनीलाई भुक्तानी गर्नेछ भने सीमाभन्दा माथिको रकम सम्बन्धित सवारी साधन धनीले भुक्तानी गर्ने गरी सोको जानकारी सम्बन्धित सावारी धनीलाई गराइनेछ । साथै मर्मतको दौरानमा सवारी धनीलाई सवारी साधनको मर्मतको यथास्थितिको जानकारी स्पार्क अटोकेयरबाट भइरहनेछ ।
(घ) वि डेलिभर
मर्मत भई तयार भएको सवारी साधन स्पार्क अटोकेयरले आफैंले काठमाडौं उपत्यकाभित्र सवारीधनीको घरसम्म पुर्याउने व्यवस्था मिलाइएको छ । यसरी सहज र सरल रुपमा निजी सवारी धनीहरुले नगदसहित दावी सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
























