गृहपृष्ठ सरकारलाई सफल बनाउने जिम्मा भनेको निजामती कर्मचारीकाे हाे : प्रधानमन्त्री देउवा
सरकारलाई सफल बनाउने जिम्मा भनेको निजामती कर्मचारीकाे हाे : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐनलाई समयअनुकूल अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल निजामती कर्मचारी युनियनको आठौँ राष्ट्रिय महाधिवेशनको शनिबार उद्घाटन गर्दै उनले संघीय निजामती सेवा ऐनलाई अगाडि बढाउन र कर्मचारी समायोजनका क्रममा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
'निजामती सेवा समायोजनमा देखिएको असन्तुष्टिलाई यथाशीघ्र सम्बोधन गरिन्छ, जनतालाई मुस्कान सहितको सेवा प्रदान गर्न कर्मचारी लाग्नुपर्छ,' उनले भने । राजनीतिका आधारमा निजामती कर्मचारीलाई भेदभाव नगरी राष्ट्रहितका लागि उनीहरुलाई लगाउनुपर्ने प्रधानमन्त्री देउवाकाे भनाइ थियो । उनले प्रभावकारी ढंगले काम गर्न कर्मचारीलाई आग्रहसमेत गरे ।
प्रधानमन्त्री देउवाले ट्रेड युनियनको अधिकारलाई संविधानले स्पष्ट व्याख्या गरेको बताउँदै ट्रेड युनियनलाई व्यवस्थित र परिमार्जन गर्दै लैजानको लागि सरकारको पूर्ण समर्थन रहने उल्लेख गरे । निजामती कर्मचारीले सरकारको नीति र योजनालाई प्रभावकारी ढंगले कार्यान्वयन गर्दै लैजानुपर्ने उनको भनाइ थियो ।
सरकारलाई सफल बनाउने जिम्मा भनेको निजामती कर्मचारी भएको बताउँदै प्रधानमन्त्री देउवाले भने, 'लोकतान्त्रिक मुलुकमा निजामती सेवाको महत्वपूर्ण भूमिका रहेको छ, निजामती कर्मचारी कानुनप्रति इमान्दार, बफादार, अब्बल र अनुशासित हुनुपर्छ ।' सरकार र जनताबीच निजामती कर्मचारीले पुलको काम गर्दै आएको उनको भनाइ थियो ।
प्रकाशित समय : २१:११ बजे


















