नाइमा अटो एक्सपोमा ग्लोबल आइएमईको विशेष योजना, ५.२५ प्रतिशत ब्याजमै अटो लोन
वि.सं.२०८३ साउन २६ मंगलवार १७:२५
shares
काठमाडौं । ग्लोबल आइएमई बैंकले नाइमा अटो एक्सपोको अवसरमा नयाँ गाडी खरिद गर्ने ग्राहकका लागि विशेष अटो लोन योजना सार्वजनिक गरेको छ।
योजनाअन्तर्गत एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम ०.५ प्रतिशत प्रिमियम थप गरी कर्जा लिन सक्नेछन्। हालको आधारदरअनुसार यस्तो कर्जाको न्यूनतम ब्याजदर ५.२५ प्रतिशत कायम हुने बैंकले जनाएको छ। आधारदरमा हुने परिवर्तनअनुसार कर्जाको ब्याजदर पनि समायोजन हुनेछ।
बैंकले नयाँ विद्युतीय गाडी (ईभी) खरिद गर्ने ग्राहकका लागि तीन वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदरको अर्को योजना पनि ल्याएको छ। तीन वर्षपछि भने उक्त कर्जाको ब्याजदर बैंकको आधारदरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी निर्धारण गरिनेछ।
एक्सपोमा बैंकले स्टल राखेर गाडी खरिद गर्न चाहने ग्राहकका लागि कर्जा आवेदन तथा प्रक्रिया अघि बढाउने व्यवस्था गरेको छ। आवश्यक कागजात पूरा भएपछि अधिकतम तीन दिनभित्र कर्जाको स्वीकृतिपत्र उपलब्ध गराउने बैंकले जनाएको छ।
बैंकका अनुसार नाइमा अटो एक्सपोमा आउने ग्राहकले बैंकको स्टलबाटै कर्जा प्रक्रियाबारे जानकारी लिन तथा आवेदन दिन सक्नेछन्।
ग्लोबल आइएमई बैंकले हाल ७७ वटै जिल्लामा ३४१ शाखा, ३६६ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ।






















