गृहपृष्ठ चीनमा एआई उद्योग विस्तार हुँदै
चीनमा एआई उद्योग विस्तार हुँदै
चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता ९एआई० उद्योगको विकास गर्दै राष्ट्रियस्तरमा एआई पूर्वाधार विस्तारलाई तीव्रता दिएको छ ।
एकतिस प्रान्तीयस्तरीय क्षेत्रबाट प्राप्त पछिल्लो आर्थिक तथ्याङ्कले चीनमा एआई उद्योग क्षेत्रगत र भौगोलिक विशेषताअनुसार विकास भइरहेको देखाएको छ । एआईसँग सम्बन्धित उत्पादन तथा सेवाको मागसमेत बढ्दै गएको छ ।
चीनको राष्ट्रिय विकास तथा सुधार आयोगअन्तर्गतको स्टेट इन्फर्मेसन सेन्टरका अनुसन्धानकर्ता सियाओ होङवेईले एकीकृत सर्किट र औद्योगिक रोबोटजस्ता उदीयमान उद्योगमा एआईको प्रभाव बढ्दै गएको बताए ।
“चीनमा एआई प्राविधिक अवधारणाबाट वास्तविक उत्पादकत्व वृद्धिको माध्यममा रूपान्तरण हुने प्रक्रिया तीव्र भइरहेको छ”, उनले भने ।
एआईका प्रमुख केन्द्र
यस वर्ष जुनको अन्त्यसम्म चीनको बुद्धिमान कम्प्युटिङ क्षमता वार्षिक १७७ प्रतिशतले बढेर दुई हजार १८५ ‘इफलोप्स’ पुगेको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । देशभरका कम्प्युटिङ सुविधाको औसत उपयोग दर ७१ दशमलव चार प्रतिशत रहेको छ ।
‘इफलोप्स’ कम्प्युटिङ क्षमताको मापन गर्ने एकाइ हो । एक इफलोप्स बराबर प्रतिसेकेन्ड एक क्विन्टिलियन फ्लोटिङ–पोइन्ट गणना हो ।
सियाओका अनुसार बेइजिङ, साङ्घाई र ग्वाङडोङले प्रविधि, जनशक्ति तथा औद्योगिक पूर्वाधारका कारण एआई उद्योगको विकासमा अग्रणी भूमिका निर्वाह गरिरहेका छन् । यी क्षेत्रले एकीकृत सर्किट, औद्योगिक रोबोटलगायत क्षेत्रमा एआईको पूर्ण औद्योगिक शृङ्खला विकास गरिरहेका छन् ।
सन् २०२६–२०३० को पञ्चवर्षीय योजनाका लागि यी तीनै क्षेत्रले विश्वव्यापी एआई प्रतिस्पर्धात्मक क्षमता बढाउने लक्ष्य राखेका छन् ।
बेइजिङले आफूलाई विश्वव्यापी एआई नवप्रवर्तन केन्द्रका रूपमा विकास गर्ने प्रयास गरिरहेको छ । नगरको साइबरस्पेस प्रशासनका अनुसार जुलाई २३ सम्म २५९ वटा लार्ज मोडल र १९५ वटा एआई उत्पादन दर्ता भएका छन् ।
साङ्घाईमा जुनको अन्त्यसम्म १६९ वटा एआई लार्ज मोडल दर्ता तथा स्वीकृत भएका थिए । सहरका ३९४ ठूला एआई उद्यमले सन् २०२५ मा ६३७ अर्ब युआन ९करिब ९३ अर्ब ८५ करोड अमेरिकी डलर० भन्दा बढीको औद्योगिक उत्पादन गरेका थिए । दक्षिणी ग्वाङडोङ प्रान्तमा पनि मुख्य एआई उद्योगको आकार गत वर्ष ३०० अर्ब युआनभन्दा बढी पुगेको थियो ।
क्षेत्रगत विशेषतामा जोड
चीनका अन्य क्षेत्रले पनि आफ्ना विशिष्ट स्रोतसाधन र औद्योगिक क्षमताका आधारमा एआई विकासका फरक क्षेत्र पहिचान गरेका छन् ।
पूर्वी आन्हुई प्रान्तले एआई चिप उद्योगको विकासलाई तीव्रता दिएको छ । प्रान्तको पहिलो १२ इन्च वेफर फाउन्ड्री नेक्सचिप जुलाईमा हङकङ स्टक एक्सचेन्जमा सूचीकृत भएको थियो । ३५ दशमलव पाँच अर्ब युआन लगानी रहेको यसको चौथो चरणको परियोजनाले यस वर्षको चौथो त्रैमासिकमा उत्पादन सुरु गर्ने योजना बनाएको छ ।
आन्हुईको राजधानी हेफेईस्थित मेमोरी चिप निर्माता चाङसिन मेमोरी टेक्नोलोजिज पनि जुलाईको अन्त्यमा ए–सेयर बजारमा सूचीकृत भएको थियो ।
मध्य चीनको हुबेई प्रान्तले अप्टोइलेक्ट्रोनिक्स उद्योगमा आफ्नो क्षमताको उपयोग गर्दै अप्टिकल सञ्चार, चिप, डिस्प्ले, टर्मिनल र नेटवर्कसम्बन्धी औद्योगिक शृङ्खला विकास गरेको छ । प्रान्तीय राजधानी वुहानलाई ‘अप्टिक्स भ्याली अफ चाइना’ को प्रमुख केन्द्रका रूपमा विकास गरिएको छ ।
त्यस्तै, हेनान प्रान्तले आफ्नो यातायात केन्द्रको पहिचानलाई कम्प्युटिङ क्षमताको केन्द्रका रूपमा विस्तार गरिरहेको छ । अप्रिलमा राजधानी झेङझाउस्थित राष्ट्रिय सुपरकम्प्युटिङ नेटवर्कको मुख्य केन्द्रमा ठूलो वैज्ञानिक बुद्धिमान कम्प्युटिङ क्लस्टर सञ्चालनमा ल्याइएको थियो ।
सिन्जियाङ, भित्री मङ्गोलिया र गुइझोउले भने प्रशस्त स्वच्छ ऊर्जा स्रोतको उपयोग गर्दै बुद्धिमान कम्प्युटिङ केन्द्र स्थापना तथा विस्तार गरिरहेका छन् ।
पहाडी क्षेत्रमा एआई केन्द्र
हुबेईको लिचुआन सहरस्थित वुलिङ पहाडको फेदीमा रहेको लिचुआन एआई कम्प्युटिङ सेन्टरले स्थानीय प्राकृतिक स्रोत र हावापानीलाई एआई पूर्वाधार विकासमा उपयोग गरेको छ ।
शीतल हावापानी र पर्याप्त जलविद्युत् उपलब्धताका कारण लिचुआन कम लागतमा कम्प्युटिङ केन्द्र सञ्चालनका लागि उपयुक्त मानिएको छ । केन्द्रमा करिब दुई मिटर अग्ला सर्भर क्याबिनेटहरू जडान गरिएका छन् र यसले करिब १५० ‘पेटाफ्लप्स’ कम्प्युटिङ क्षमता प्रदान गर्छ । यसको उपयोग दर ८० प्रतिशतभन्दा बढी रहेको छ ।
पेटाफ्लप्स एआई तथा तथ्याङ्कमा आधारित कार्यको कम्प्युटिङ गति मापन गर्ने एकाइ हो । एक पेटाफ्लप्स बराबर प्रतिसेकेन्ड एक क्वाड्रिलियन गणना हो ।
केन्द्रले हाल संस्कृति तथा पर्यटन, सरकारी सेवा र एयरोस्पेससम्बन्धी क्षेत्रमा सेवा दिइरहेको छ ।
लिचुआनको लियाङवु टाउनसिपमा जियोभिस रेउइन टेक्नोलोजी कम्पनीले उपग्रहको सङ्केत प्राप्त गर्ने केन्द्र पनि स्थापना गरेको छ । उक्त केन्द्रले उपग्रहबाट प्राप्त तथ्याङ्क प्रशोधनका क्रममा नजिकैको एआई कम्प्युटिङ केन्द्रको क्षमता प्रयोग गर्न सक्छ ।
कम्पनीका सञ्चालन महाप्रबन्धक गाओ कुईका अनुसार पहाडी भूगोल, स्वच्छ विद्युत्–चुम्बकीय वातावरण, स्थिर हावापानी र कम्प्युटिङ केन्द्रको निकटताले उपग्रह केन्द्रको सञ्चालनलाई सहज तथा लागत प्रभावकारी बनाएको छ ।
एआई कम्प्युटिङ क्षमताले स्थानीय उद्योगलाई समेत सहयोग पु¥याएको छ । लिचुआनमा हरेक वर्ष दुई करोडभन्दा बढी पर्यटक पुग्ने भएकाले उनीहरूको आवागमन, खानपान, बसोबास, किनमेल तथा मनोरञ्जनबाट ठूलो परिमाणमा तथ्याङ्क उत्पादन हुन्छ ।
यही तथ्याङ्कको उपयोग गरी संस्कृति तथा पर्यटन सेवाका लागि स्वदेशी लार्ज मोडल विकास गरिएको छ । यसबाट एआईमा आधारित स्मार्ट गाइड तथा अन्य पर्यटन सेवा सञ्चालन गर्न सहयोग पुगेको छ ।
उद्योग तथा सूचना प्रविधि मन्त्रालयले उच्च गुणस्तरको कम्प्युटिङ पूर्वाधार विकासलाई निरन्तरता दिँदै हब, क्षेत्रीय तथा एज कम्प्युटिङ सुविधाको समन्वयात्मक विस्तारलाई अघि बढाएको छ । मन्त्रालयले देशभरको कम्प्युटिङ क्षमताको अनुगमनका लागि राष्ट्रिय एकीकृत स्वचालित अनुगमन प्रणाली स्थापना गर्ने कामसमेत अघि बढाएको छ ।रासस
प्रकाशित समय : २०:५३ बजे

















