गृहपृष्ठ एमाले अध्यक्ष ओलीकाे सुझाव- प्रदेश नं. १ को नाम कोसी राख्दा उपयुक्त हुन्छ
एमाले अध्यक्ष ओलीकाे सुझाव- प्रदेश नं. १ को नाम कोसी राख्दा उपयुक्त हुन्छ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं. १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएका छन् । प्रेस चौतारी नेपाल प्रदेश नं. १ को शनिबार विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश नं. १ को नाम ‘कोसी प्रदेश’ राख्दा उपयुक्त हुने सुझाव दिएका हुन् ।
अध्यक्ष ओलीले भने, 'कोसीले पुरानो सभ्यता र परम्परा बोकेका छ । यहाँका धर्म, ज्ञान, संस्कृति, सभ्यता र परम्परा योसँग जोडिएका छन् । जातजातिपछि आएका हुन् । जातीय पहिचानको आधारभन्दा सभ्यताको पहिचान नै उपयुक्त र साझा हुन्छ, त्यसैले कुनै भ्रममा नपरी प्रदेशको नामाकरण कोसी गर्दा हुन्छ ।' उनले अर्को प्रसंगमा नेपाली कांग्रेस एमालेसँग लड्ने पाँच घटकमध्ये एक भएको टिप्पणी गरे । वर्तमान गठबन्धनमध्येका कसैले पनि आउँदो निर्वाचनमा एमालेसँग एक्लै मैदानमा आउने आँट नगरेको उल्लेख गर्दै अध्यक्ष ओलीले लोकतन्त्रका निम्ति लामो संघर्ष गरेको कांग्रेसले दक्षिणपन्थीको वैशाखी टेक्नु दुःखद् भएको आरोप लगाए ।
प्रेस चौतारीको अधिवेशनलाई उद्घाटन गर्नुअघि पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले अर्जुनधारा नगरपालिकास्थित सालबाडीमा रहेका पाँच सहिद रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुईंकेल, नारायण श्रेष्ठको सालिकमा माल्र्यपण गरेका थिए ।
प्रकाशित समय : २०:१६ बजे



















