काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’

1.85K
shares

ललितपुर । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष एवं ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रलाई प्रोत्साहन गर्न आवश्यक भएको बताएको छ ।

नेपाल–कोरिया उद्यमी व्यवसायी सङ्घको आयोजनामा आज ललितपुरमा भएको ‘नेपाल–कोरिया व्यवसायिक अन्तरक्रिया कार्यक्रम’लाई सम्बोधन गर्दै पूर्वअध्यक्ष ढकालले नेपालमा जुनसुकै क्षेत्रमा पनि लगानी गरेर उपलब्धि हासिल गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै सीप, प्रविधि र जाँगरलाई प्रोत्साहन गर्न व्यवसायिक गतिविधिलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

“कोरियाले छोटो समयमा विश्वकै शक्तिशाली अर्थतन्त्र निर्माण गर्न सक्नुको कारण कामप्रतिको लगाव, इमानदारी, नैतिकता, समयको परिपालन नै हो, जति धेरै निजी क्षेत्रलाई प्रोत्साहन गर्छौँ, त्यति धेरै रोजगारी र राजश्व सङ्कलन हुन्छ, उत्पादनमा होस् वा नवप्रवर्तन र उद्यमशीलता विकासमा होस्, हरेक कुरालाई प्रवद्र्धन गर्न बाँकी छ, विदेश जानुपर्ने अवस्था अन्त्य गर्न यहाँ रोजगारी सृजना गर्नु आवश्यक छ”, पूर्वअध्यक्ष ढकालले भने ।

नेपालमा नकारात्मक भाष्य मात्रै निर्माण भइरहेको अवस्थामा नेपाल उद्योग वाणिज्य महासङ्घमार्फत सम्भावना र सकरात्मक सन्देश दिन प्रयत्न गरेको उनले बताए । नेपाल–कोरिया उद्यमी व्यवसायी सङ्घले नेपाल र कोरियाबीचको आर्थिक गतिविधि बढाउन पुलको रुपमा काम गर्ने विश्वास व्यक्त गरे ।

नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेयोङले यस किसिमको अन्तरक्रियाले कोरियाली सीपमार्फत रोजगारी प्रवद्र्धन, उद्यमशीलता विकास, राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखे। उनले कोरिया र नेपालबीच सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै कोरियाली कम्पनीहरु नेपालमा दक्ष जनशक्तिको विकासका लागि सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न इच्छुक रहेको धारणा राखे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यसमिति सदस्य एवं रोजगार परिषद्का उपाध्यक्ष बाबुकाजी कार्कीले नेपालमा दुई तिहाईको नजिकैको बहुमत प्राप्त सरकार रहेकाले उद्यमशीलता, रोजगारी प्रवर्द्धनका क्षेत्रमा स्थायित्वका साथै प्रभावकारी नीतिगत व्यवस्था गर्ने विश्वास व्यक्त गरे । उनले राष्ट्रिय रोजगारीमा ८६ प्रतिशत र अर्थतन्त्रमा ८१ प्रतिशत योगदान रहेको बताउँदै सरकारले यसका लागि आवश्यक सुधार गर्दै विश्वसनीय वातावरण तयार गर्नुपर्नेमा जोड दिए ।

नेपाल–कोरिया उद्यमी व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष विकी श्रेष्ठले नेपाल कोरियाबीचको सम्बन्ध श्रम सम्बन्धको मात्रै नभइ अनुभव आदानप्रदान र व्यवसाय तथा व्यापारिक साझेदारीसमेत भएको बताए ।

नेपाल–कोरिया उद्यमी व्यवसायी सङ्घका महासचिव जीतेन्द्र बानियाँले कोरियाबाट फर्किएका नेपालीको सीप, अनुभव र पुँजीलाई नेपालको उत्पादन तथा रोजगारीमा रूपान्तरण गर्दै नेपाल र कोरियामा रहेका उद्यमी, व्यवसायी तथा लगानीकर्तालाई एउटै सञ्जालमा आबद्ध गराउने सङ्घको मुख्य ध्येय रहेको जानकारी गराए । उनले कोरियाली प्रविधि र उत्पादनलाई नेपालमा भित्र्याउन र कोरियाबाट आधुनिक औद्योगिक सीप, संस्कृति, प्राविधिक ज्ञान, र पुँजी आर्जन सहित नेपाल फर्किएका ‘रिटर्नी’ मा रहेको उद्यमशीलता तथा आर्थिक रूपान्तरणको महत्त्वपूर्ण सम्भावना बोकेका मानव पूँजीलाई नेपालमा उत्पादन, रोजगारीमा प्रोत्साहित गरि व्यवहारमा कार्यान्वयन गरिनुपर्नेमा जोड दिए ।

नेपाल र दक्षिण कोरियाबीचको आर्थिक, व्यावसायिक तथा उद्यमशील सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको ‘नेपाल–कोरिया व्यावसायिक अवसर, चुनौती र रिटर्नी उद्यमीको भूमिका’ विषयक कार्यक्रममा सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरू, बैंक तथा वित्तीय संस्थाका पदाधिकारीहरू, सफल रिटर्नी उद्यमी, व्यवसायी, शिक्षाविद्लगायतको सहभागिता रहेको थियोे ।