गृहपृष्ठ बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गदैनः सभापति थापा
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गदैनः सभापति थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बिपी कोइराला, गणेशमान सिंह जस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्न दिनु नहुने बताएको छ ।
नेपाली कांग्रेसका नेता धर्म गौतमले लेख्नुभएको पुस्तक ‘बिपी र विद्रोहका ती दिन’ विमोचन समारोहलाई सम्बोधन गर्दै सभापति थापाले बिपीको मेलमिलापको नीतिको सन्दर्भ अहिले व्यापक रुपमा चर्चा भएको बताए ।
“दुई, तीन जना बसेर बिपीले यसो भनेको थियो भन्ने गरेको सुनिन्छ, त्यसको कुनै आधिकारिकता भने हुँदैन, कुनै पुस्तक हुँदैन, दस्तावेज हुँदैन, त्यसका लागि पनि धर्म गौतमजस्ता ऐतिहासिक पृष्ठभूमि भएका व्यक्तिको पुस्तक प्रकाशन हुन जरुरी छ”, उनले भने ।
कांग्रेस राष्ट्रिय शक्ति भएको उल्लेख गर्दै सभापति थापाले निर्वाचनमा ठूलो दल हुन नसके पनि राष्ट्रिय शक्तिको पार्टीको पहिचान कसैले खोस्न नसक्ने बताए । कांग्रेस संस्थापन इतर समूहले हालै गरेको भेलाका विषयमा सोमबार पार्टी कार्यालयमै पत्रकार सम्मेलन गरी जानकारी गराइने भएकाले आजै केही नसोध्न पनि उनले सञ्चारकर्मीलाई आग्रह गरे ।
पुस्तकका लेखक एवं कांग्रेस नेता गौतमले पुराना नेता सबै गाली गर्न लायक मात्र थिएनन्, सराहना गर्न लायक पनि थिए भन्ने जानकारी दिन नै आफूले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीसँग जोडिएका विषय समेटेर पुस्तक लेखेको जानकारी दिए। पुस्तकमा बिपीको सूत्र साम्यवादमा प्रजातन्त्र थपे समाजवाद, समाजवादबाट प्रजातन्त्र झिके साम्यवाद र मदन भण्डारीको बहुदलीय जनवादका विषयमा के फरक छ रु बिपी, विचार र दर्शनको पुञ्जलगायत विषयमा चर्चा गरिएको उनले बताए ।
“पुस्तक बिक्रीबाट प्राप्त हुने रकममा परिवारका तर्फबाट थपेर गाउँको सामुदायिक स्वास्थ्यचौकी र महेश्वरा आधारभूत विद्यालयलाई आधुनिक सुविधासम्पन्न बनाउन सहयोग गर्ने सल्लाह भएको छ, यसमा परिवारका सदस्य पनि सहमत छन्”, लेखक गौतमले भने ।
कार्यक्रममा पुस्तकका बारेमा वरिष्ठ पत्रकार हरिहर विरहीले समीक्षात्मक मन्तव्य दिँदै धर्म गौतमजस्ता राजनीतिज्ञले आफ्ना समयका राजनीतिक इतिहास लेखेर गए मात्र भावी पुस्ता त्यसबाट लाभान्वित हुनाका साथै विगतका राजनीतिक तथ्य पनि उजागर हुने उल्लेख गरे ।
प्रकाशित समय : १९:१४ बजे

















