बुढासुब्बा गोल्डकप आगामी चैत २६ देखि
वि.सं.२०७८ फागुन १९ बिहीवार १८:५१
shares

२३औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिता आगामी चैत २६ गतेदेखि धरान-१६ स्थित रंगशालामा सुरु हुने भएको छ । कोरोना महामारीका कारण गत वर्ष आयोजना हुन सकेको थिएन ।
प्रतियोगितामा आयोजक क्लबसहित आठ टिम सहभागी हुने आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए । उनका अनुसार काठमाडौँमा हालै सम्पन्न भएको सहिद स्मारक लिगको उत्कृष्ट तीन टिम सहभागी हुनेछन् । भारतका दुई क्लब र मोफसलको अन्य दुई उत्कृष्ट क्लब पनि प्रतियोगितामा सहभागी हुने अध्यक्ष उनले जानकारी दिए ।
विजेताले नगद ट्रफीसँगै नगद १० लाख रुपैयाँ र उपविजेतालाई नगद पाँच लाख रुपैयाँ पुरस्कार राखिएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक लाख ५० हजार रुपैयाँ पाउनेछन् । ५१ लाख ३२ हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । करिब १५ लाख रुपैयाँ नाफा गर्नेगरी प्रतियोगिताको तयारी गरिएको आयोजकले जनाएको छ ।
विजेता र उपविजेतालाई दिइने नगद पुरस्कार धरान उपमहानगरपालिकाले व्यवस्थापन गर्ने भएको छ । त्यसका लागि उपमहानगरले १८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यसमध्ये १० लाख रुपैयाँ पहिलो पुरस्कार र पाँच लाख रुपैयाँ दोस्रो पुरस्कारको छुट्याइएको छ । बाँकी तीन लाख रुपैयाँ धरानको टिम तयारीका लागि खर्च गर्नेगरी उपमहानगरले उपलब्ध गराउने निर्णय भएको क्लबका अध्यक्ष राईले जानकारी दिए ।
उनले यसपटक उपाधि जित्ने लक्ष्यसहित आयोजकले दुई टिम तयार गर्ने जनाएको छ । उपाधि जित्ने गरी ए डिभिजन र विदेशी खेलाडीसमेत समावेश गरेर सिनियर टिम तयार गरिने अध्यक्ष राईले बताए ।
























