अदुवा खेतीतर्फ किसानको आकर्षण बढ्दै
वि.सं.२०७८ फागुन १२ बिहीवार १५:१३
shares

नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का किसान अदुवा खेतीतर्फ आकर्षित हुँदै गएका छन् । जिल्लामा अदुवा उत्पादन राम्रो हुने र बजारीकरणमा कुनै समस्या नभएकाले अदुवा खेतीतर्फ किसानको आकर्षण बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बागवानी विकास अधिकृत शंकर पौडेलले पछिल्लो समय अदुवा खेतीतर्फ किसानको आकर्षण बढेसँगै उत्पादनमा समेत वृद्धि हुँदै गएको बताए । आर्थिक वर्ष २०७६/७७ मा जिल्लाको ८७० हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएकाेमा आठ हजार ९९० मेट्रिक टन उत्पादन भएको पौडेलले बताए ।
त्यस्तै आव २०७७/७८ मा ९०० हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिँदा नौ हजार ८०० मेट्रिक टन उत्पादन भएको पौडेलको भनाइ छ । चालु आव २०७८/७९ मा जिल्लाको ९५० हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएकामा नौ हजार ९५० मेट्रिक टन अदुवा मात्रै उत्पादन भएको छ ।
अदुवा खेतीको विस्तार भए पनि उत्पादकत्व भने खासै बढ्न नसकेको सूचना अधिकारी पौडेलले बताए । जिल्लामा पछिल्ला तीन वर्षको अवधिमा अदुवाको उत्पादकत्व प्रतिहेक्टर १०.३७ मेट्रिक टनदेखि १०.८९ मेट्रिक टन मात्रै रहेको पौडेलको भनाइ छ ।
जिल्लामा उत्पादन भएको ताजा अदुवा स्थानीय बजारसँगै काठमाडौं, पोखरा, नाराणगढ, बुटवलसहितका बजारमा बिक्री हुने गरेको उल्लेख गर्दै सूचना अधिकारी पौडेलले बढी भएको अदुवाको सुठो बनाएर बिक्री गर्ने गरिएको जानकारी दिए । अन्य खेती नहुने खाली जमिनमा पनि अदुवाको उत्पादन हुने भएकाले कृषक अदुवा खेततर्फ आकर्षित भएका पौडेलले बताए ।
जिल्लाको पहाडी क्षेत्रमा अदुवा खेती राम्रो हुने गरेको छ ।

























