अबदेखि १८ वर्षमाथिका सबैलाई बुस्टर डोज
वि.सं.२०७८ फागुन १२ बिहीवार १४:४७
shares

सरकारले १८ वर्ष र सोभन्दा माथि उमेर समूहका सबैलाई कोभिडविरुद्धको बुस्टर डोज खोप लगाउन सुरु गरेको छ । पूर्ण खोप लिएको ६ महिना पुगेका सबै वयस्कलाई बुस्टर लगाउन थालिएको हो ।
त्यस्तै, सरकारले कोभ्यासअन्तर्गत अनुदानमा प्राप्त हुने फाइजरको ९२ लाख डोजलाई पनि प्राथमिक (पहिलो र दोस्रो)सँगै बुस्टरका रूपमा लगाउने योजना बनाएको छ । १२ वर्ष र सोभन्दा माथिकालाई बुस्टर र प्राथमिक डोज लगाउन मिल्ने ९२ लाख डोज फाइजर मार्चदेखि आउनेछ ।
१८ वर्ष पूरा भएकालाई उपलब्ध भए पहिले लगाइएकै खोप, नभए कोभिसिल्ड, अस्ट्राजेनेका, मोडर्ना, जान्सेन, फाइजरलाई बुस्टरको रूपमा लगाइने भएको छ । खोप लगाउन जाँदा पूर्ण खोप लगाएको कार्ड अनिवार्य बोक्नुपर्नेछ । हालसम्म भेरोसेल, कोभिसिल्ड, अस्ट्राजेनेका, मोडर्ना, फाइजर र जोन्सन खोप नेपालमा लगाइएको छ ।
सरकारले कोभिसिल्ड, अस्ट्राजेनेका र एमआरएनए खोप लिएकालाई बुस्टरका रूपमा भेरोसेल लगाउन अनुमति दिएको छैन । तर, भेरोसेल लगाएकाले भने बुस्टरका रूपमा कोभिसिल्ड, अस्ट्राजेनेका, मोडर्ना र फाइजर लगाउन सक्छन् ।

























