‘निकुञ्ज सुरक्षादेखि हिमाल सफाई अभियानसम्म’ नेपाली सेना, ११४ जनाले ज्यान गुमाए
वि.सं.२०७८ फागुन ११ बुधवार १३:४०
shares

नेपाली सेनाले प्रकृति संरक्षणका क्रममा विभिन्न समयमा वन्यजन्तुको आक्रमणसहित भिन्न-भिन्न विपद्का घटनामा आफ्नो अत्यधिक जनशक्तिको क्षति ब्यहोर्नुपरेको छ । नेपाली सेनाद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु संरक्षण र शिकार आरक्षणमा खटिने क्रममा स्थापनाकालदेखि हालसम्म ११४ जना सकल दर्जाले ज्यान गुमाएको तथ्यांक प्रस्तुत गरियो ।
रसुवाको राम्चे होस् वा लाङटाङ क्षेत्रको हिमपहिरो तथा बाघ र गैँडाको आक्रमण, बिच्छी टोकाइ एवं सर्पको डसाइबाट उक्त जनशक्ति गुमाउनुपरेको नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका प्रमुख हिमांशु थापाले जानकारी दिए ।
पछिल्लो समय चितवनमा ध्रुवे हात्तीको आक्रमणमा परी एक सैनिकको ज्यान गएको थियो । सेनाले चार दशकअघिदेखि प्रकृति संरक्षणको क्षेत्रमा तैनाथ भई संकटापन्न जनावर तथा प्रकृति संरक्षणमा विशिष्ट योगदान पुर्याउँदै आएको छ ।
सेनाद्वारा वन्यजन्तु तथा प्रकृति संरक्षणमा गरिएको योगदानको विश्व समुदायबाट उच्च प्रशंसासमेत हुँदै आएको छ । मुलुकका चितवन, बर्दिया, खप्तड, पर्सा, रारा, लाङटाङ, शिवपुरी, सगरमाथा, बाँके, मकालुवरुण, शक्लाफाँटा र शे-फोक्सुण्डोसहित १२ निकुञ्ज, कोसीटप्पु वन्यजन्तु आरक्षण, ढोरपाटन शिकार आरक्षण तथा अन्नपूर्ण, कञ्चनजंगा, कृष्णसार, मनास्लु, अपिनाम्पा र गौरीशंकर संरक्षणमा सेना तैनाथ छ ।
ती क्षेत्रमा सेनाले हात्ती, डुंगा, पैदल, साइकल, मोटरसाइकल र सवारीसाधनबाट अहोरात्र गस्ती गर्दै आएको छ । देशका ३३ जिल्लामा फैलिएका १४ संरक्षित क्षेत्र, राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षण र शिकार आरक्षणमा हाल सेनाको आठ गण, सात गुल्म एक शिक्षालय समेतबाट गरी आठ हजार १९ जनशक्ति प्राकृतिक संरक्षणमा तैनाथ छन् ।
प्रकृति एवं वन्यजस्तु संरक्षणमा सेनाबाट विशिष्ट योगदान भएकै कारण लोपोन्मुख बाघ र गैँडाको संख्या १० वर्षको अवधिमा दोब्बर भएको तथ्यांकले पुष्टि गरेको छ । सेनाले दिएको तथ्यांकअनुसार सन् २००९ मा नेपालमा बाघको संख्या १२१ रहेकामा २०१८ को गणनामा २३५ पुगेको थियो ।
पछिल्लो समय सेना नेपालका हिमालको ओज कायम राख्न हिमाल सफाइ अभियानमा समेत जुटेको छ । यस वर्ष पनि सेनाले सगरमाथा, ल्होत्से, कन्चनजंगा र मनास्लु हिमाल सफाइ अभियानलाई निरन्तता भएको छ ।
उक्त अभियान आगामी चैत २२ देखि जेठ २२ गतेसम्म सञ्चालन हुनेछ । अभियानका क्रममा हिमाली क्षेत्रबाट ३५ टन फोहर संकलन गरिने जानकारी दिइएको छ ।

























