सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै
वि.सं.२०७८ फागुन ५ बिहीवार १८:०८
shares

कैलालीकी झरना जैसीको परिवारसँग जति सम्पत्ति छ सबै उनीकै नाममा छ । झरनाका श्रीमान् रोजगारीका सिलसिलामा भारतमा छन्। श्रीमानले भारतमा कमाएका पैसा झरनाकाे नाममा आउँछ ।
घर चलाउने देखि लिएर सबै झरनाको काधँमा छ । तर सम्पति किनबेच गर्दा उनी श्रीमान्को निर्णयलाई अन्तिम मान्छिन् । 'सबै सम्पति मेरो नाममा छ, तर किनबेच सबै श्रीमानको जिम्मा छ', उनले भनिन्। 'खर्चको सबै हिसाब पनि श्रीमान्लाई बुझाउनुपर्छ, म सबै हिसाब लेखेर राख्छु, श्रीमान् घर आएको बेला देखाउँछु ।
टीकापुर नगरपालिका-४ की प्रेमरानी चौधरीको पनि घर यसरी नै चल्छ । प्रेमरानीको नाममा एक कट्ठा जमिन छ। श्रीमानले कमाउछन् तर घर चलाउने जिम्मा प्रेमरानीकै काँधमा छ ।
प्रेमरानीले सबै हरहिसाब श्रीमान्लाई बुझाउँछिन्। तर उनका श्रीमानले भने कहिल्यै प्रश्न गरेका छैनन् । 'श्रीमानले हाम्रो खर्च चलाउनका लागि काम गर्नुहुन्छ, उहाँको विश्वासका लागि म हिसाब त दिन्छु तर कहिल्यै अविश्वास गर्नुभएको छैन', प्रेमरानीले भनिन्,'घर व्यवस्थापन मैले गर्ने भएकाले पनि सबै कारोबार मैले नै गर्छु ।'
टीकापुरकै रविना चौधरीको घरमा भने सबै सम्पत्ति घरमूली ससुराका नाममा छ। रविनाका श्रीमान् सवारी चालक हुन् । सबैले कमाएको सम्पत्ति ससुराको हातमा भए पनि सम्पत्ति जोड्दा, बिक्री गर्दा वा कुनै नयाँ काम गर्दा सबैबीच सल्लाह हुन्छ । 'पहिलेदेखि नै भएको जग्गा ससुराका नाममा छ, हामीले कमाएको सबै रकम ससुरा राख्नुहुन्छ', रविनाले भनिन्, 'हामी किनबेच गर्दा सल्लाह गर्छौं, घरमा पालेका कुखुरा बेच्दा पनि घरमा भएकाबीच सल्लाह हुन्छ, सबैको सहमतिमा काम गर्छौं ।'
रविनाका घरमा सल्लाहमा काम हुने भएकाले परिवार मिलेको छ । आर्थिक स्वामित्व महिलाका नाममा नहुँदा महिला हिंसामा पर्ने गरेका धेरै घटना सुनिन्छन् । त्यसैले बराबरी अधिकार स्थापित होस् भनी सरकारले महिलाका नाममा घरजग्गा खरिद गर्दा नामसारीका लागि लाग्ने शुल्कमा २५ प्रतिशत छुट दिने गरेको छ । त्यसले महिलाका नाममा सम्पत्ति थपिँदै गएको छ ।
मालपोत कार्यालय टीकापुरमा चालु आर्थिक वर्षको पुस महिनासम्म दुई हजार ९०५ लिखत पारित भएकामा एक हजार ४७ लिखत महिलाका नाममा पारित भएका छन् । मालपोतको तथ्यांक हेर्दा एक करोड पाँच लाख १४ हजार ५३५ महिलाका नाममा रजिष्टेसन गर्दा छुट पाइएको छ । महिलाका नाममा रजिष्ट्रेसन हुने जग्गा कारोबार हेर्दा प्रतिशतका हिसाबले ३६ प्रतिशत पुगेको मालपोत कार्यालयका नायब सुब्बा सर्वनन्द चपाईले बताए ।
'२५ प्रतिशत छुट पाउने भएपछि महिलाका नाममा रजिष्ट्रेसन गर्ने परिवार बढ्दै गएका छन्', चपाईले भने, 'जसले करोड बढी रकम छुट पाइएको छ, यो सरकारले दिएको अधिकार महिलाका नाममा सम्पत्ति बढेमा महिला आर्थिकरुपमा सबल हुन्छन् भनेर हो, यसको सकारात्मक प्रभाव बढ्दै गएको छ ।' समाज रुपान्तरण हुँदै गएको छ । चेतनाको विकास भएका र सरकारी नीतिबारे जानकारी पाएकामा रकम छुट पाइने हुँदा महिलाका नाममा सम्पत्ति दर्ता हुने क्रम बढेको अधिकारकर्मी चन्द्रावती शर्मा बताए ।
'महिला र पुरुष समान हुन्, समान भए पनि हाम्रो समाजमा महिलालाई पुरुषभन्दा कमजोर छन् भने चित्रण गरिएको छ', शर्माले भने, 'पुरुषभन्दा महिला कमजोर वा घर व्यवस्थापनको जिम्मा बढी दिइँदा सम्पत्तिमा महिलाको अधिकार स्थापित हुन नसकेको हो, तर पछिल्लो समय सम्पत्तिमा महिलाको अधिकार स्थापित गराउन सरकारले नीतिगतरुपमै अभियान चालेपछि सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै गएको देखिन्छ ।'

























