गृहपृष्ठ रनफर प्रोटिन हाफ म्याराथन हुने
रनफर प्रोटिन हाफ म्याराथन हुने
नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा काठमाडौंमा ‘रनफर प्रोटिन’ हाफ म्याराथन हुने भएको छ । एशोसिएसनद्वारा आज यहाँ आयोजित पत्रकार सम्मलेनमा उक्त प्रतियोगिता आगामी पुस ३ गते हुने जानकारी दिइएको छ ।
प्रतियोगितामा हाफ म्याराथनसहित पुरुष १० किमि, महिला पाँच किमि, १२ कक्षासम्मका विद्यार्थीअन्तर्गत पुरुषतर्फ पाँच किमि तथा महिलातर्फ तीन किमि दौड हुनेछ । साथै फरक क्षमता भएका व्यक्तिका लागि ह्वीलचेयर दौड पनि समावेश गरिएको आयोजकका अध्यक्ष डा. सितलकाजी श्रेष्ठले जानकारी दिए ।
प्रोटिनमाथिको अधिकारको मर्मलाई आत्मसात गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन तथा जनचेतना फैलाउने उद्देश्यले म्याराथन आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । महिला तथा पुरुषतर्फको हाफ म्याराथन विजेताले समान एक लाख रूपैयाँ तथा दोस्रो हुने खेलाडीले ७५ हजार रूपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै तेस्रो हुने खेलाडीले ५० हजार रूपैयाँ पाउनेछन् । चौथो र पाँचौ हुनेले क्रमशः ४० हजार रूपैयाँ र ३० हजार रूपैयाँ प्राप्त गर्नेछन् ।
१० किमितर्फ शीर्षदेखि पाँचौ स्थानसम्म हातपार्ने खेलाडीले क्रमशः ५० हजार रूपैयाँ, ४० हजार रूपैयाँ, ३० हजार रूपैयाँ, २० हजार रूपैयाँ र १० हजार रूपैयाँ पाउनेछन् । पाँच किमि तथा ह्वीलचेयरतर्फका शीर्षदेखि पाचौं स्थानसम्म विजेता हुने खेलाडीले क्रमश ३० हजार रूपैयाँ, २० हजार रूपैयाँ, १५ हजार रूपैयाँ, १० हजार रूपैयाँ र पाँच हजार रूपैयाँ पाउनेछन् ।
त्यसैगरी तीन किमितर्फका शीर्ष पाँचसम्म विजयी हुने खेलाडीले क्रमशः २० हजार रूपैयाँ, १५ हजार रूपैयाँ, १० हजार रूपैयाँ, पाँच हजार रूपैयाँ र दुई हजार ५०० रूपैयाँ प्राप्त गर्नेछन् । उक्त प्रतियोगिताका लागि दर्ता शुल्क दुई सय रूपैयाँ तोकिएको छ ।
प्रकाशित समय : १४:१२ बजे




















