गृहपृष्ठ इरान–अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, १० भारतीयको उद्धार
इरान–अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, १० भारतीयको उद्धार
इरान–अमेरिका तनावकाबीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका ११ भारतीयमध्ये १० जनाको उद्धार गरिएको छ भने एकजना अझै बेपत्ता रहेको भारतले जनाएको छ ।
भारतीय विदेश मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार, ‘जीएफएस ग्यालेक्सी’ नामक व्यावसायिक जहाजमाथि आइतबार बिहान ओमानको तट नजिक आक्रमण भएको थियो । घटनापछि खोज तथा उद्धार अभियान जारी रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार जहाजमा रहेका ११ भारतीय नागरिकमध्ये १० जनाको सकुशल उद्धार गरिएको छ भने एकजनाको अवस्था अझै अज्ञात छ ।
अमेरिकी सेन्ट्रल कमान्डले जहाजमाथिको आक्रमणका लागि इरानलाई जिम्मेवार ठहराउँदै आगलागी र इन्जिन कक्षमा पुगेको क्षतिका कारण जहाज सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको जनाएको छ ।रासस
बेलायती सामुद्रिक सुरक्षा निकाय ‘युकेएमटीओ’का अनुसार चालक दलका सदस्यले जहाज छोडेर लाइफबोटमा आश्रय लिएका थिए । उक्त घटना ओमानको तटबाट करिब १७ किलोमिटर पूर्वमा भएको बताइएको छ ।
यो घटना अमेरिकाको पछिल्लो सैन्य कारबाहीको प्रत्युत्तरस्वरूप इरानले होर्मुज जलसन्धि बन्द गर्ने घोषणा गरेको तथा खाडी क्षेत्रका विभिन्न स्थानतर्फ क्षेप्यास्त्र र ड्रोन आक्रमण जारी राखिरहेका बेला भएको हो ।
भारतीय विदेश मन्त्रालयले व्यावसायिक जहाज र नागरिक पूर्वाधारमाथि भइरहेका आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेको छ ।
मन्त्रालयले अन्तरराष्ट्रिय कानुनअनुसार क्षेत्रका अन्तरराष्ट्रिय जलमार्गमा स्वतन्त्र र निर्वाध आवागमन यथाशीघ्र पुनःस्थापना हुनुपर्नेमा जोड दिएको छ ।
इरान र अमेरिकाबीचको पछिल्लो तनावले मध्यपूर्वमा युद्ध अन्त्य गर्ने उद्देश्यले गरिएको अन्तरिम समझदारीलाई थप सङ्कटमा पारेको छ ।
–––
प्रकाशित समय : १८:५९ बजे



















