गृहपृष्ठ एनभीएलको पहिलो दिनको टिकट बिक्रीबाट उठेको रकम विपद् कोषमा जम्मा गरिने
एनभीएलको पहिलो दिनको टिकट बिक्रीबाट उठेको रकम विपद् कोषमा जम्मा गरिने
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा पुनःस्थापनाका लागि एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) ले सहयोग गर्ने भएको छ।
एनभीएलले लिगको पहिलो दिन भदौ १९ गतेको खेलका लागि बिक्री हुने टिकटबाट संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाएको छ।
आयोजकले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। संकटको यस घडीमा नेपाल सरकारको उद्धार तथा राहत अभियानमा साथ दिने प्रतिबद्धतासमेत आयोजकले जनाएको छ।
एनभीएलका सबै खेलका टिकट आईएमई खल्ती लिमिटेडबाट खरिद गर्न सकिनेछ। त्यस्तै त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने टिकट काउन्टरबाट भौतिक रूपमा समेत टिकट खरिद गर्न सकिने आयोजकले जनाएको छ।
एनभीएलका लागि टिकट बुकिङ भदौ १४ गतेदेखि आईएमई खल्तीमार्फत खुला गरिएको छ।
आयोजकका अनुसार खेलकुदमार्फत मनोरञ्जनसँगै विपद्का बेला प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले टिकट बिक्रीबाट प्राप्त रकम राहत कोषमा उपलब्ध गराउन लागिएको हो।
प्रकाशित समय : १२:०५ बजे


















