गृहपृष्ठ बाढी प्रभावितका लागि चेम्बरले संकलन गरेको राहत सरकारलाई हस्तान्तरण

बाढी प्रभावितका लागि चेम्बरले संकलन गरेको राहत सरकारलाई हस्तान्तरण

बाढी प्रभावितका लागि चेम्बरले संकलन गरेको राहत सरकारलाई हस्तान्तरण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि संकलन गरेको राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

नेपाल चेम्बरका वरिष्ठ उपाध्यक्ष तथा विपद् व्यवस्थापन परिषद्का सभापति दीपककुमार मल्होत्राको नेतृत्वमा चेम्बर प्रतिनिधिहरूले आइतबार सामाखुसीस्थित नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र पुगेर राहत सामग्री हस्तान्तरण गरेका हुन्। युथ चेम्बरले संकलन गरेका सामग्रीसमेत समेटेर जिल्ला प्रशासन कार्यालय, काठमाडौंमार्फत प्रभावित क्षेत्रमा पठाउने गरी राहत हस्तान्तरण गरिएको चेम्बरले जनाएको छ।

चेम्बरका अनुसार राहत सामग्रीमा चिउरा, बिस्कुट, रेडिमेड सर्ट तथा टिसर्ट, दाल, सेनिटरी प्याड, टुथपेस्ट, टुथब्रस, पञ्जा र मास्कलगायत दैनिक उपभोग्य तथा स्वास्थ्यजन्य सामग्री छन्।

हस्तान्तरण गरिएको सामग्रीमा ३४ बोरा चिउरासहित थप परिमाणमा चिउरा, कोदोको बिस्कुट ८० कार्टुन, मकै मह बिस्कुट ८३ कार्टुन, चोको चिप्स बिस्कुट ८७ कार्टुन, सेनिटरी प्याड १० कार्टुन, आयो नुन टिसर्ट ७ कार्टुन, टुथपेस्ट एक कार्टुन, टुथब्रस दुई कार्टुन तथा पञ्जा र मास्क तीन कार्टुन छन्।

त्यस्तै अन्य टिसर्ट दुई बोरा तथा २५० थान, ‘आक्र्स फुड’ लेखिएको टिसर्ट एक बोरा तथा ७३ थान र १० किलो दालसमेत हस्तान्तरण गरिएको छ।

यसैबीच नेपाल चेम्बर अफ कमर्स र लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ जी, नेपालबीचको सहकार्यमा पनि बाढी प्रभावितका लागि राहत सामग्री उपलब्ध गराइएको छ। उक्त सहयोगमा खानेपानी, चाउचाउ, बिस्कुट, टुथपेस्ट, टुथब्रस, साबुन, डायपर, डसना, औषधि, सेनिटरी प्याड, चामल, कपडा र ग्लोभ्सलगायत सामग्री छन्।

राहत हस्तान्तरण कार्यक्रममा चेम्बरका कार्यसमिति सदस्य कृष्णमान श्रेष्ठ, रोशन भोयद्यो, रुजुल श्रेष्ठलगायतको उपस्थिति थियो।

भोटेकोशीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको थियो। विपद्पछि चेम्बरले राहत संकलन तथा वितरणसँगै उद्धार र सुरक्षा व्यवस्थापनमा समेत सहयोग गर्दै आएको जनाएको छ।

यसअघि चेम्बरले नेपाल प्रहरीलाई १७ वटा ड्रोन र विदुर नगरपालिकालाई दुई वटा ड्रोन तथा १२५ वटा पावर बैंक हस्तान्तरण गरेको थियो। प्रभावित जिल्लाका जिल्ला चेम्बरलाई तत्काल राहतमा जुट्न सहज होस् भन्ने उद्देश्यले नगद सहयोगसमेत उपलब्ध गराइएको चेम्बरले जनाएको छ।

त्यस्तै भारतबाट ५०० थान सोलार पावर बैंक ल्याउने व्यवस्था गरिएको चेम्बरले जनाएको छ।

चेम्बरले विपद्का बेला निजी क्षेत्रको सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सरकारसँगको सहकार्यमा उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई निरन्तरता दिने जनाएको छ। प्रभावित नागरिकलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, कपडा तथा स्वास्थ्यजन्य सामग्री उपलब्ध गराउने उद्देश्यले सदस्य तथा व्यवसायीबाट राहत संकलन गरिएको र सहयोगलाई निरन्तरता दिइने चेम्बरको भनाइ छ।

प्रकाशित समय : ११:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु