global ime bank Long Banner Ad

गृहपृष्ठ स्वतन्त्रता दिवसको उत्सवसँगै अर्जेन्टिनाको ध्यान विश्वकप उपाधि जोगाउने लक्ष्यमा

स्वतन्त्रता दिवसको उत्सवसँगै अर्जेन्टिनाको ध्यान विश्वकप उपाधि जोगाउने लक्ष्यमा

स्वतन्त्रता दिवसको उत्सवसँगै अर्जेन्टिनाको ध्यान विश्वकप उपाधि जोगाउने लक्ष्यमा

काठमाडौं । साविक विजेता अर्जेन्टिनाले आफ्नो २१०औँ स्वतन्त्रता दिवसको अवसरमा समर्थक तथा सम्पूर्ण देशवासीलाई शुभकामना दिँदै फिफा विश्वकप २०२६ मा उपाधि रक्षा अभियानलाई निरन्तरता दिएको छ ।

अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीले सामाजिक सञ्जाल एक्समार्फत ‘स्वतन्त्रता दिवसको शुभकामना’ सन्देश सार्वजनिक गर्दै देशवासीसँग उत्सव मनाएको हो ।

अर्जेन्टिनाले हरेक वर्ष जुलाई ९ मा स्वतन्त्रता दिवस मनाउने गर्दछ । सन् १८१६ मा टुकुमान कांग्रेसले स्पेनी शासनबाट स्वतन्त्रताको घोषणा गरेको सम्झनामा यो दिवस मनाइन्छ । ऐतिहासिक घोषणापत्र उत्तरी सहर सान मिगेल दे टुकुमानस्थित फ्रान्सिस्का बाजान दे लागुनाको घरमा हस्ताक्षर गरिएको थियो, जुन अहिले ‘कासा हिस्टोरिका दे ला इन्डिपेन्डेन्सिया’ संग्रहालयका रूपमा संरक्षण गरिएको छ ।

यस अवसरमा अर्जेन्टिनाभर सैन्य परेड, सरकारी समारोह, सांस्कृतिक कार्यक्रम तथा परम्परागत परिकारसहित विभिन्न कार्यक्रम आयोजना गरिन्छ । राजधानी ब्युनस आयर्सस्थित विश्वकै सबैभन्दा फराकिलो सडक मानिने ‘एभेनिडा ९ दे जुलियो’ पनि यही ऐतिहासिक दिनको सम्मानमा नामकरण गरिएको हो ।

यस वर्ष स्वतन्त्रता दिवसको उत्साहलाई राष्ट्रिय फुटबल टोलीको उत्कृष्ट प्रदर्शनले थप उचाइ दिएको छ । प्रशिक्षक लियोनेल स्कालोनीको नेतृत्वमा अर्जेन्टिनाले हालसम्म खेलेका सबै पाँच खेल जित्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ । टोलीले प्रतियोगितामा हालसम्म १४ गोल गरेको छ, जुन फ्रान्ससँग संयुक्त रूपमा सर्वाधिक हो ।

कप्तान लियोनेल मेस्सी अर्जेन्टिनाको सफल यात्राका मुख्य नायक बनेका छन् । ३९ वर्षीय मेस्सीले प्रतियोगितामा आठ गोल गरिसकेका छन्, जुन उनको विश्वकप करियरकै एक संस्करणमा सर्वाधिक गोल हो । साथै उनले लगातार नौ विश्वकप खेलमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमानसमेत कायम गरेका छन् ।

अर्जेन्टिनाले समूह चरणमा अल्जेरियालाई ३–०, अस्ट्रियालाई २–० र जोर्डनलाई ३–१ ले पराजित गर्दै अपराजित रूपमा नकआउट चरणमा प्रवेश गरेको थियो । नकआउट चरणमा भने टोलीले कडा चुनौतीको सामना गर्यो । राउन्ड अफ ३२ मा विश्वकप डेब्यु टोली काबो भेर्डेलाई अतिरिक्त समयमा ३–२ ले हराएको अर्जेन्टिनाले अन्तिम १६ मा इजिप्टविरुद्ध २–० ले पछि परेको अवस्थाबाट अविस्मरणीय पुनरागमन गर्दै ३–२ को जित निकालेको थियो ।

क्रिस्टियन रोमेरो र मेस्सीले बराबरी गोल गरेपछि इन्जुरी समयमा एन्जो फर्नान्डेजले निर्णायक हेडर गर्दै टोलीलाई क्वार्टरफाइनल पु¥याएका थिए । अब अर्जेन्टिनाले जुलाई ११ मा क्यान्सस सिटीमा स्विट्जरल्यान्डसँग क्वार्टरफाइनल खेल्नेछ । यो भेट सन् २०१४ को विश्वकपको अन्तिम १६ को सम्झना पनि हो, जहाँ एन्जेल डि मारियाको अतिरिक्त समयको गोलमा अर्जेन्टिना विजयी हुँदै अन्ततः फाइनलसम्म पुगेको थियो ।

यदि स्विट्जरल्यान्डलाई पराजित गर्न सके अर्जेन्टिना पछिल्ला चार संस्करणमध्ये तेस्रो पटक सेमिफाइनल पुग्नेछ र लगातार दोस्रो तथा समग्रमा चौथो विश्वकप उपाधि जित्ने अभियानलाई थप मजबुत बनाउनेछ । एएनआई

प्रकाशित समय : १६:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु