गृहपृष्ठ चितवनका सबै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
चितवनका सबै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
चितवन। भरतपुर अस्पतालमा बिरामीको चाप बढेपछि जिल्लाका सबै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्ने योजना अघि बढाएको छ ।
भरतपुर महानगरपालिका, राप्ती, कालिका, रत्ननगर खैरहनी, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा भरतपुर अस्पतालका चिकित्सकद्वारा बहिरङ्ग सेवा (ओपिडी) सञ्चालन गर्ने योजनाअघि बढाएको हो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगालेले भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीसहितको टोलीसँग शारदानगर हेल्थपोष्ट स्थलगत अध्ययन गरेको छ ।
बगालेले उक्त हेल्थपोष्टमा भरतपुर अस्पतालका विशेषज्ञ चिकित्सक पठाउने गरी तयारी भइरहेको बताए । उनले भन्नुभयो, “भरतपुर महानगर सकारात्मक भएकाले छिट्टै काम अघि बढाउँछौँ ।”
उहाँले सात पालिकाका प्रमुख तथा उपप्रमुखसँग आवश्यक छलफल अघि बढाइएको बताए । उनले भने, “स्थानीयस्तरमै नागरिकलाई भरतपुर अस्पतालको सेवा हामी दिँदैछौँ ।” उक्त अस्पतालमा प्राथमिक र विशेषज्ञ सेवा दिने भन्दै उनले भरतपुर अस्पतालले अति विशिष्टिकृत सेवालाई प्राथमिकतामा राखेर उपचार गर्ने बताए ।
डा बगालेले पालिकाको लगानीमा सञ्चालन भएका अस्पतालमा भरतपुर अस्पतालकै वरिष्ठ चिकित्सकले उपचार गर्ने भएपछि उपचारका लागि भरतपुर अस्पताल आउनुपर्ने बाध्यताको अन्त्य गर्न यो अभियान सञ्चालन गरिएको जानकारी दिए ।
पालिकाहरु सकारात्मक भएमा दुई वर्षमा भरतपुर अस्पताल आउने बिरामीको सङ्ख्या आधा घटाएर विशिष्टिकृत सेवामा जोड दिन सकिने बताए ।
भरतपुर अस्पतालमा दैनिक तीन हजार बिरामी बहिरङ्ग सेवा उपचारमा आउने गरेका छन् ।
प्रकाशित समय : १७:०६ बजे



















