global ime bank Long Banner Ad

गृहपृष्ठ कतारका पूर्वनेता शेख हमद बिन खलिफाको निधन

कतारका पूर्वनेता शेख हमद बिन खलिफाको निधन

कतारका पूर्वनेता शेख हमद बिन खलिफाको निधन

कतार सरकारले आइतबार पूर्वनेता शेख हमद बिन खलिफा अल थानीको निधन भएको घोषणा गरेको छ । उहाँले सन् १९९५ देखि २०१३ सम्म कतारको नेतृत्व गरेका थिए ।

अमिरको कार्यालयले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा शेख हमदको निधनप्रति दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

शेख हमदलाई आधुनिक कतार निर्माणका प्रमुख योजनाकारमध्ये एकका रूपमा हेरिन्छ । उहाँको नेतृत्वकालमा कतारले तीव्र आर्थिक विकास हासिल गर्दै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रभाव विस्तार गरेको थियो ।

शेख हमदले सन् १९९५ को जुनमा विदेश भ्रमणमा रहेका आफ्ना बुबा शेख खलिफा बिन हमद अल थानीलाई रक्तहीन सत्ता परिवर्तनमार्फत विस्थापित गर्दै नेतृत्व सम्हालेका थिए ।

त्यतिबेला सीमित आर्थिक स्रोत भएको सानो खाडी राष्ट्रलाई उहाँले ऊर्जा, सञ्चार र कूटनीतिक क्षेत्रमा विस्तार गर्दै विश्वस्तरमा प्रभावशाली मुलुकका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।

उहाँकै शासनकालमा सन् १९९६ मा अन्तरराष्ट्रिय समाचार संस्थाअल जजिरा मिडिया नेटवर्कको स्थापना भएको थियो ।

सन् २०१३ को जुनमा शेख हमदले आफ्ना छोरा शेख तमिम बिन हमद अल थानीलाई सत्ता हस्तान्तरण गर्दै स्वेच्छिक रूपमा गद्दी त्याग गर्नुभएको थियो । यो अरब विश्वको आधुनिक इतिहासमा दुर्लभ घटनाका रूपमा हेरिएको थियो ।

करिब ३० लाख जनसङ्ख्या रहेको कतार खाडी क्षेत्रको सानो राष्ट्रमध्ये एक हो । यहाँको अर्थतन्त्र मुख्य रूपमा प्राकृतिक ग्यास र तेल क्षेत्रमा आधारित छ भने जनसङ्ख्याको ठूलो हिस्सा विदेशी कामदारले ओगटेका छन् ।

कतार सन् १९७१ सम्म बेलायतको संरक्षित राज्यका रूपमा रहेको थियो । १९औँ शताब्दीको मध्यदेखि नै अल थानी परिवारले यहाँको शासन गर्दै आएको छ ।रासस

प्रकाशित समय : १८:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु