गृहपृष्ठ मल्लकालीन भैरव नाच सुरु

मल्लकालीन भैरव नाच सुरु

मल्लकालीन भैरव नाच सुरु
भक्तपुर ।  मध्यपुरथिमि नगरपालिकामा तान्त्रिक विधिअनुसार सञ्चालन हुने मल्लकालीन भैरव अर्थात् भैलः नाच सुरु भएको छ । तन्त्रमन्त्रद्वारा दैवी शक्तिको आह्वान गरी शरीरमा दैवी शक्ति धारण गरेर आइतबार रातिदेखि भैरव नाच सुरु भएको हो ।
यही भदौ १७ गतेसम्म प्रदर्शन हुने ऐतिहासिक तथा आनुष्ठानिक ‘परम्परागत थिमि भैलः अर्थात् भैरव नाच धार्मिक मान्यताअनुसार महत्वपूर्ण मानिँदै आएको छ । श्री गणेश सांस्कृतिक समाज (कुम्हाननी, तुलंननी, मध्यपुरथिमि–५) को आयोजनामा सुरु भएको भैलः नाच गाईजात्राको भोलिपल्ट रातिदेखि सुरु हुने परम्परा छ ।
तान्त्रिक विधिबाट मुकुन्डोमा प्राणप्रतिष्ठापन गरी त्यसलाई धारण गरेर परम्परागत पोशाक लगाएर दैवी शक्तिको आह्वान गरी नचाइने यस नाचलाई विसं १९९७ देखि प्रजापति समुदायले संस्थागत र निरन्तर रूपमा सञ्चालन गर्दै आएको नाचका गुरु गणेशमान प्रजापतिले जानकारी दिए ।
प्रजापति समुदायद्वारा निरन्तरता दिइँदै आएको यो नाच मल्लकालदेखि नै सुरु भएको मानिँदै आएको छ । १९९७ सालदेखि प्रजापति समुदायले यसलाई संस्थागत र निरन्तर रूपमा सञ्चालन गर्दै इतिहासलाई जीवन्त बनाउने काम गरेको नाच हेर्ने क्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।
परम्परागत थिमि भैलः अर्थात् भैरव नाचमा कुल ३२ तालमध्ये हाल प्रचलित २७ ताल विशेष स्थानअनुसार बजाइन्छ । नाचका क्रममा बाजाको तालमा ‘भैलः खायगु’ (भैरव जाग्ने) र देवगणले चार घण्टासम्म उग्र रूपमा जाग्ने र नाच्ने गर्छन् ।
प्राचीन कालमा नगरमा आउने भूतप्रेत, लाखे र पिशाचको भयबाट मुक्ति गर्न नगरवासीको रक्षा एवं शान्तिका लागि भैलः नाच सुरु भएको गुरु प्रजापति बताउछन ।

प्रकाशित समय : १२:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु