global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ आजदेखि बडीगाडमा पौंदी न्वागी मेला

आजदेखि बडीगाडमा पौंदी न्वागी मेला

आजदेखि बडीगाडमा पौंदी न्वागी मेला

बागलुङको बडिगाड पौंदी न्वागी मेला आजदेखि सुरु भएको छ । बिहान ११ः५ बजेको शुभसाइतमा न्वागी खाएसँगै मेला सुरु भएको हो । पौँदेलीको विशिष्ट पहिचान बनेको न्वागीको नैरित्य दिशातर्फ फर्किएर भगवान् विष्णुलाई अर्पण गरी खाएसँगै मेला सुरु भएको स्थानीय नैनप्रसाद आचार्यले बताए । 

मेलाका अवसरमा विभिन्न प्रतियोगितात्मक तथा सांकृतिक कार्यक्रम आयोजना गरिएको छ । मेलाको पहिलो दिन न्वागीको साइत परेकाले आज सबै आगन्तुक पाहुनासहित दर्शकलाई तथा अतिथिका लागि मेला अवधिभर न्वागी खुवाउने व्यवस्था मिलाइएको छ ।

न्वागी स्थानीय जातको जडन धानको चामल, दही र केरामा भिजाएर स्थानीय उत्पादन सिलाम, तिल मिसाई बास्तु पूजा गरी शुभ साइतमा शुभ दिशा फर्किएर खाने एक परिकार हो । पौँदेलीले मंसिरमा पर्ने न्वागी नखाएसम्म नयाँ धान प्रयोग नगर्ने चलन रहेको स्थानीय बताउँछन् ।

पौंदी क्षेत्रभित्र बागलुङको ग्वालीचौर, जलजलासहित गुल्मीको नेटा, पौंदी अमराईलगायत तत्कालीन इश्मा राज्यअन्तर्गत पर्ने क्षेत्र पर्ने गर्दछन् । पौंदी क्षेत्रमा हरेक वर्ष मेला लाग्ने गरेको छ । बडीगाडको ग्वालिचौर मात्रै पौंदी क्षेत्रमा पर्ने भए पनि पछिल्लो समय यो मेला गाउँपालिकाको पहिचानकै रुपमा विकास हुँदै गएको छ । 'न्वागी नखाई नयाँ चामल खाइँदैन, यो उत्सवकै रुपमा मनाउने चलन छ,' स्थानीय कमल पौडेलले भने, 'आपसी सद्भाव र मित्रताको पर्व बनेको छ ।'

न्वागी खाने पौंदेलीको शदियौंदेखि चलिआएको धार्मिक एवं सांस्कृतिक परम्परा हो । पौंदीलेले धानबाली थन्क्याइसकेको भए पनि त्यसको प्रयोग बिक्री वितरण नगरी न्वागी खाने दिन र समयको प्रतिक्षामा बसेका थिए । पौंदी क्षेत्रमा खेत नहुने अर्थात् जसको घरमा नयाँ धान भित्रिँदैन उनीहरुलाई पनि न्वागी पर्वमा सरीक गराई न्वागी खुवाउने प्रचलन रहिआएको छ । पौंदेलीको न्वागी पर्व यस क्षेत्रमा मात्र नभएर नेपालकै एक महत्वपूर्ण पर्व मानिन्छ ।

न्वागीका अवसरमा खारबजारमा तीन दिनदेखि हप्ता दिनसम्म विविध कार्यक्रमको आयोजना गरिन्छ । यस अवसरमा व्यापारीले अस्थायी पसल राखेर लाखौंको कारोबार गर्दै आएका छन् । न्वागी यस क्षेत्रको व्यापारिक मेला पनि हो । (रासस)

प्रकाशित समय : १८:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु