global ime bank Long Banner Ad

गृहपृष्ठ क्वार्टरफाइनलमा अर्जेन्टिनाको अग्निपरीक्षा, स्विट्जरल्यान्ड कडा चुनौती दिन तयार

क्वार्टरफाइनलमा अर्जेन्टिनाको अग्निपरीक्षा, स्विट्जरल्यान्ड कडा चुनौती दिन तयार

क्वार्टरफाइनलमा अर्जेन्टिनाको अग्निपरीक्षा, स्विट्जरल्यान्ड कडा चुनौती दिन तयार

काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा आज स्विट्जरल्यान्डको सामना गर्दैछ। नेपाली समयअनुसार खेल बिहान ६ः४५ बजे सुरु हुनेछ।

यस विश्वकपमा कप्तान लियोनेल मेस्सी उत्कृष्ट लयमा छन्। उनले हालसम्म आठ गोल गरिसकेका छन् र ‘गोल्डेन बुट’को दौडमा दोस्रो स्थानमा छन्। थप एक गोल गर्न सके उनी शीर्ष स्थानमा उक्लिनेछन्।

हेड–टु–हेडमा अर्जेन्टिनाको स्पष्ट दबदबा देखिए पनि स्विट्जरल्यान्डलाई कमजोर आँक्ने अवस्था छैन। दुई टोलीबीच हालसम्म सात अन्तर्राष्ट्रिय खेल भएका छन्, जसमा अर्जेन्टिनाले पाँच खेल जितेको छ भने दुई खेल बराबरीमा सकिएका छन्। स्विट्जरल्यान्डले अहिलेसम्म अर्जेन्टिनालाई पराजित गर्न सकेको छैन।

विश्वकपमा भने यी दुई टोली तेस्रो पटक आमनेसामने हुन लागेका हुन्। सन् १९६६ को विश्वकपमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई २–० ले हराएको थियो भने सन् २०१४ को विश्वकपको प्रि–क्वार्टरफाइनलमा १–० को कठिन जित निकालेको थियो।

अर्जेन्टिना यस विश्वकपमा अपराजित रहँदै क्वार्टरफाइनलमा पुगेको छ। समूह चरणमा अल्जेरियालाई ३–०, अस्ट्रियालाई २–० र जोर्डनलाई ३–१ ले पराजित गरेको अर्जेन्टिनाले ‘राउन्ड अफ ३२’ मा काबो भर्डेलाई ३–२ तथा ‘राउन्ड अफ १६’ मा इजिप्टलाई पनि ३–२ ले हराएको थियो।

उता, स्विट्जरल्यान्डले पनि प्रतियोगितामा प्रभावशाली प्रदर्शन गर्दै अपराजित यात्रा कायम राखेको छ। टोलीले पाँच खेलमध्ये चारमा जित र एक खेल बराबरी खेलेको छ। समूह चरणमा बोस्नियालाई ४–१ र क्यानडालाई २–१ ले पराजित गरेको स्विट्जरल्यान्डले कतारसँग १–१ को बराबरी खेलेको थियो। त्यसपछि ‘राउन्ड अफ ३२’ मा अल्जेरियालाई २–० ले हराएको टोलीले ‘राउन्ड अफ १६’ मा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो।

अर्जेन्टिनाको आक्रमणको मुख्य जिम्मेवारी फेरि एकपटक मेस्सीकै काँधमा रहनेछ। एन्जो फर्नान्डेज, जुलियन अल्भारेज र निकोलस गोन्जालेजबाट पनि टोलीले उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेको छ।

यता, कप्तान ग्रानिट जाकाको नेतृत्वमा रहेको स्विट्जरल्यान्ड अर्जेन्टिनाको आक्रमणलाई रोक्ने योजनामा हुनेछ। प्रतियोगितामा तीन गोल गरिसकेका जोहान मानजाम्बी स्विस टोलीका प्रमुख आशा हुन्।

सम्भावित प्रारम्भिक–११

अर्जेन्टिना: एमी मार्टिनेज, मोलिना, रोमेरो, ओटामेन्डी, ट्याग्लियाफिको, डी पाउल, एन्जो फर्नान्डेज, म्याक एलिस्टर, लियोनेल मेस्सी, जुलियन अल्भारेज, निकोलस गोन्जालेज।

स्विट्जरल्यान्ड: यान सोमर, विडमर, अकान्जी, एलभेडी, रोड्रिगेज, फ्रायलर, ग्रानिट जाका, शाकिरी, सोउ, वर्गास, एम्बोलो।

प्रकाशित समय : ०६:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु