global ime bank Long Banner Ad

गृहपृष्ठ आजको राशिफलः बिसं २०८३ असार २८ गते, आइतबार

आजको राशिफलः बिसं २०८३ असार २८ गते, आइतबार

आजको राशिफलः बिसं २०८३ असार २८ गते, आइतबार

आजको राशिफलः बिसं २०८३ असार २८ गते आइतबार, ई.सं. २०२६ जुलाई १२, नेपाल संवत् ११४६ तछलागा त्रयोदशी, असार कृष्ण त्रयोदशी। पञ्चाङ्गः वृद्धि योग, गर करण, रोहिणी नक्षत्र। चन्द्रमा वृष राशिमा र सूर्य मिथुन राशिमा रहेका छन्। आज प्रदोष व्रत पनि परेको छ। नेपालमा आज सूर्योदय बिहान ५ः१६ बजे र सूर्यास्त साँझ ७ः०१ बजे हुनेछ।

आज कुनै महत्त्वपूर्ण कामका लागि घरबाट बाहिर निस्कँदा नौनी घिउ खाएर जुनसुकै दिशातर्फ यात्रा गरे पनि शुभ फल प्राप्त हुने विश्वास छ। कुनै शुभ कार्यको प्रारम्भ वा महत्त्वपूर्ण यात्राका लागि बिहान ६ः१५ बजेदेखि ९ः०६ बजेसम्मको समय शुभ मानिएको छ। यो समय नेपालको राष्ट्रिय समयअनुसार निर्धारण गरिएको हो।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
रमणीयता र भावुकतामा अल्झिन सकिने भएकाले महत्त्वपूर्ण काममा कमजोरी देखिन सक्छ। लक्ष्य प्राप्तिका लागि कडा मेहनत आवश्यक हुनेछ। कार्यक्षेत्रमा सफलता प्राप्त भए पनि कल्पना र भावनामा बढी बहिन सक्ने समय भएकाले अरूका सुझावलाई पनि ध्यान दिनु उपयुक्त हुन्छ। बिर्सने बानीका कारण केही काममा ढिलाइ हुन सक्छ भने कामप्रतिको लगाव कम हुँदा वरिष्ठ कर्मचारी असन्तुष्ट हुन सक्छन्।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
भेटघाट र मिलनको अवसर मिले पनि मानसिक अन्योल र चिडचिडापन बढ्न सक्छ। अनावश्यक कुराकानी र मजाकमा संयम अपनाउनु राम्रो हुन्छ। मौसमको प्रभाव स्वास्थ्यमा पर्न सक्छ। विवाद र बहसबाट टाढा रहनु बुद्धिमानी हुनेछ। आफन्तबाटै तनाव सिर्जना हुन सक्छ। कानुनी वा लगानीसम्बन्धी जटिलता देखिन सक्छ। काम गर्ने शैली र व्यवस्थापनमा सुधार आवश्यक छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
टाढा रहेका सन्तानबाट शुभ समाचार प्राप्त हुने तथा सुख–सन्तोष मिल्ने दिन छ। मनले चाहेका काम पूरा हुने सम्भावना बलियो छ। लामो समयदेखि प्रयास गरिरहेको कामले पूर्णता पाउनेछ। पहिले अधुरा रहेका काममा पुनः प्रयास गर्नु लाभदायक हुनेछ। भावुकता बढे पनि बौद्धिक क्षमता र सीप विकासमा ध्यान दिए चुनौतीपूर्ण काममा पनि सफलता मिल्नेछ। परीक्षा र प्रतिस्पर्धामा विजयको योग छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आत्मविश्वास बढ्नेछ तर कामको चाप पनि बढ्न सक्छ। साथीभाइको सहयोग लिएर अघि बढे सबै काम सहजै सम्पन्न हुनेछन्। प्रेम सम्बन्ध र परिवारका लागि समय छुट्याउन सके सम्बन्ध अझ सुदृढ हुनेछ। दैनिक खर्च बढ्ने सम्भावना छ। गोप्य कारोबारमा हानि हुन सक्ने भएकाले सावधानी अपनाउनु आवश्यक छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सञ्चार तथा सम्पर्कमार्फत आर्थिक समस्या समाधान हुन सक्छ। सञ्चार, वित्त, यातायात, ढुवानी र मार्केटिङसँग सम्बन्धित व्यवसायमा विशेष लाभ मिल्ने सम्भावना छ। साथीभाइसँग रमाइलो गर्दै दिन बित्नेछ। सामाजिक तथा परोपकारी कार्यमा रुचि बढ्नेछ। कुनै विषयमा अन्योल भए साथीहरूसँग छलफल गर्दा नयाँ ज्ञान र अनुभव प्राप्त हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मानसिक शक्ति र आन्तरिक क्षमतामा वृद्धि हुनेछ। परिवारमा आफ्नो प्रभाव बढे पनि केही कुराले मन खिन्न हुन सक्छ। मेहनत र बुद्धिको प्रयोगले साथीभाइमाझ सम्मान प्राप्त हुनेछ। गुरुजनबाट प्रशंसा मिल्न सक्छ। आफ्नो बोली र व्यवहारमा संयम अपनाउनु आवश्यक छ, किनकि मधुर वचनले सम्बन्ध बलियो बनाउँछ भने कठोर शब्दले अमूल्य सम्बन्धमा चोट पुर्‍याउन सक्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
जीवनसाथी वा प्रेमी–प्रेमिकाको भावना बुझ्न सके सम्बन्ध अझ सुमधुर हुनेछ। व्यक्तित्व र आकर्षणमा निखार आउनेछ। असम्भव आशा वा जोखिमपूर्ण क्षेत्रमा लगानी नगर्नु राम्रो हुन्छ। परिवारको चिन्ताले मानसिक तनाव बढ्न सक्छ। घरपरिवारका आवश्यकतामा ध्यान दिने समय हो। खुद्रा व्यापार तथा खाद्य सामग्रीको कारोबारमा राम्रो प्रगति हुने सम्भावना छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पढाइमा ध्यान केन्द्रित गर्न कठिन हुन सक्छ। मनलाई शान्त राख्न ध्यान, योग वा मेडिटेसन उपयोगी हुनेछ। बाध्यतावश खर्च बढ्न सक्छ र मान–प्रतिष्ठामा असर पर्ने सम्भावना पनि छ। जोखिमपूर्ण काम नगर्नुहोस् र जिम्मेवारीप्रति लापरवाही नगर्नुहोस्। काममा सामान्य त्रुटि हुन सक्ने भएकाले सतर्क रहनु आवश्यक छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दाजुभाइको सहयोग प्राप्त हुनेछ। परिवार तथा सन्तानको उन्नतिका लागि समय दिनुपर्नेछ। सरकारी तथा प्रशासनिक काममा सफलता मिल्नेछ। विगतको मेहनतको उचित प्रतिफल प्राप्त हुने सम्भावना छ। बोनस वा अतिरिक्त आम्दानीको योग पनि देखिन्छ। सहकर्मी वा सहपाठीसँगको प्रेम सम्बन्ध अझ प्रगाढ बन्न सक्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सरकारी कामबाट लाभ प्राप्त हुनेछ। कठिन परिस्थितिलाई धैर्यपूर्वक सामना गर्दा आत्मविश्वास बढ्नेछ। विरोधीले हानि गर्न सक्ने छैनन्। सामाजिक तथा राजनीतिक प्रतिष्ठा बढाउने अवसर मिल्नेछ। प्रशासनिक काम सम्पन्न गर्न उपयुक्त समय हो। सुख–शान्तिको वातावरण रहे पनि व्यवहारमा मर्यादा र जिम्मेवारी कायम राख्नु आवश्यक छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आकस्मिक लाभ प्राप्त हुने सम्भावना छ। चिट्ठा, लटरी वा सट्टापट्टाबाट पनि आय हुन सक्छ। समय अनुकूल भएकाले यसको सदुपयोग गर्नुहोस्। प्रतिष्ठालाई जोखिममा राखेर कुनै काम नगर्नुहोस्। स्वास्थ्य र कर्तव्यप्रति पनि उत्तिकै सजग रहनु आवश्यक छ। धर्मकर्म र समाजसेवामा संलग्न हुँदा सम्मान प्राप्त हुनेछ, तर परिवारलाई समय दिन नसक्दा सामान्य असन्तुष्टि बढ्न सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मित्र तथा परिवारसँग सम्बन्धित विषयले चिन्ता बढाउन सक्छ। अप्ठ्यारो परिस्थितिमा पनि धैर्यका साथ अघि बढे सफलता प्राप्त हुनेछ। जोखिम उठाएर गरेको काम लाभदायक हुन सक्छ। कामको चाप बढ्नेछ। तपाईंको उदार स्वभावको फाइदा अरूले उठाउन सक्छन्, त्यसैले सतर्क रहनुहोस्। चिडचिडापन र तनावका कारण सम्बन्धमा सामान्य विवाद उत्पन्न हुन सक्ने भएकाले संयम अपनाउनु राम्रो हुनेछ।

प्रकाशित समय : ०५:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु