गृहपृष्ठ ‘गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ’
‘गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ’
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका कामले गति लिएको बताएका छन्।
गोरखाको शहीद लखन गाउँपालिका(१ र गोरखा नगरपालिका(१२ जोड्ने लुदीखोला मोटरवेल पुलको आज यहाँ उद्घाटन गर्दै उनले निर्धारित समयमा विकास निर्माणका आयोजना सम्पन्न हुनु सुशासनको पहिलो जग भएको बताए।
गोरखाको रणनीतिक ग्रामीण सडकखण्डको रुपमा रहेको स्याउली बजार(भट्ट फाँट(मनकामना सडकखण्डमा नवनिर्मित मोटरेवल पुल निर्माण सुरु भएको आठ महिनाभित्रै काम सक्नुले पनि सकारात्मक सन्देश दिएको मुख्यमन्त्री पाण्डेको भनाइ छ।
“विकास निर्माणका आयोजनाहरू वर्षौं अलपत्र पर्ने परिपाटीका बीच निर्धारित समय अघि काम सम्पन्न हुनु निर्माण व्यवसायी, पूर्वाधार विकास कार्यालय, प्राविधिक टोली तथा सबै पक्षको प्रतिबद्धता, समन्वय र कार्यक्षमताको उत्कृष्ट उदाहारण हो”, उनले भने, “वर्तमान प्रदेश सरकारको सुशासन र विकासप्रतिको प्रतिबद्धता पनि यहीँ हो।”
पूर्वाधार विकास कार्यालय गोरखासँग विसं २०८२ असारमा पुल निर्माणको ठेक्का सम्झौता भएर असोजदेखि काम सुरु भएको थियो। कार्यालयले पुल निर्माणका लागि गणेशकुण्ड इन्फ्रास्ट्रक्चर एण्ड विल्डर्स प्रालिसँग रु सात करोड ५१ लाख ३० हजार ८५९ मा पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो।
नवनिर्मित पुल कुल ६० मिटर लम्बाइको छ। ठेकेदार कम्पनीले निर्माण अवधि सकिनुभन्दा १२ महिना अघि सम्पन गरेको हो। पुल निर्माण सम्पन्न भएसँगै गोरखा नगरपालिका र शहीद लखन गाउँपालिकाका बासिन्दालाई आवतजावतमा सहज भएको छ। पुल नहुँदामा हिउँदमा मात्र जसोतसो गाडी चल्ने उक्त सडकखण्डमा अब बाह्रै महिना निर्वाधरुपमा सवारी साधन सञ्चालन हुने अवस्था बनेको स्थानीयबासीको भनाइ छ।
प्रकाशित समय : १९:४० बजे


















