काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अस्ट्रेलियाको राजनीतिमा फेरि उथलपुथल, लिबरल सिनेटर लिआ ब्लिथ वान नेशनमा प्रवेश

336
shares

क्यानबेरा । अस्ट्रेलियाको विपक्षी राजनीतिमा नयाँ हलचल पैदा गर्दै दक्षिण अस्ट्रेलियाकी सिनेटर लिआ ब्लिथले लिबरल पार्टी छाडेर पाउलिन ह्यान्सन नेतृत्वको वान नेशन पार्टी रोजेकी छन् ।

लिबरल पार्टीबाट निर्वाचित ब्लिथले बिहीबार आफ्नो राजनीतिक दल परिवर्तनको घोषणा गरेकी हुन् । उनको यो निर्णयसँगै संघीय संसद्को माथिल्लो सदन सिनेटमा वान नेशनको उपस्थिति थप बलियो बनेको छ ।

ब्लिथको पार्टी परिवर्तनलाई लिबरल पार्टीका लागि अर्को राजनीतिक चुनौतीका रूपमा हेरिएको छ । उनी यसअघि लिबरल पार्टीका नेता एङ्गस टेलरको छाया मन्त्रिपरिषद्मा जिम्मेवारीमा थिइन् । दक्षिण अस्ट्रेलियाको लिबरल पार्टीको नेतृत्वसमेत गरिसकेकी उनी सन् २०२५ मा सिनेटर साइमन बर्मिङ्घमको स्थानमा सिनेटमा नियुक्त भएकी थिइन् ।

पार्टी छाड्ने निर्णय सार्वजनिक गर्दै ब्लिथले लिबरल पार्टीले अस्ट्रेलियाली जनताको अपेक्षाअनुसार काम गर्न नसकेको बताएकी छन् । विशेषगरी आप्रवासन नीति, ऊर्जा व्यवस्था र सरकारी खर्च व्यवस्थापनका विषयमा पार्टीको नेतृत्वप्रति आफ्नो असन्तुष्टि रहेको उनको भनाइ छ ।

उनले लिबरल पार्टीले देशलाई आवश्यक राजनीतिक परिवर्तनको नेतृत्व गर्न सक्ने विश्वास गुमाएको पनि बताएकी छन् ।

वान नेशनकी नेता पाउलिन ह्यान्सनले ब्लिथको पार्टी प्रवेशलाई स्वागत गरेकी छन्। लिबरल पार्टीप्रति निराश भएका मतदाताको आवाजलाई आफ्नो पार्टीले संसद्मा उठाउने अवसर थपिएको उनको प्रतिक्रिया छ ।

यसैबीच, नेसनल्स पार्टीका नेता म्याट क्यानाभानले निर्वाचित प्रतिनिधिले निर्वाचनपछि पार्टी परिवर्तन गर्नु उचित नहुने भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

पूर्वउपप्रधानमन्त्री बार्नाबी जोयसले पनि सन् २०२५ मा लिबरल–नेसनल गठबन्धन छाडेर वान नेशनमा प्रवेश गरेका थिए । ब्लिथको पछिल्लो निर्णयले अस्ट्रेलियाको परम्परागत दक्षिणपन्थी राजनीतिक समूहभित्रको विभाजन र नेतृत्वसम्बन्धी बहसलाई थप चर्चामा ल्याएको छ ।

पछिल्लो समय जीवनयापन खर्च, आप्रवासन, ऊर्जा नीति र राष्ट्रिय सुरक्षाका विषयमा अस्ट्रेलियाली राजनीतिमा बहस चर्किरहेका बेला भएको यो पार्टी परिवर्तनले आगामी निर्वाचनको राजनीतिक समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने चासो बढाएको छ ।