बस्ती बगाएको भोटेकोशी : जहाँ घर थिए, अहिले बगर छ
वि.सं.२०८३ मंसिर १० बिहीवार ०८:३१
shares

काठमाडौं । कुनै समय मानिसहरूको चहलपहल हुने, घर बस्ती र परिवारको बसोबास रहेको रसुवाको भोटेकोशी नदी किनार अहिले बगरमा परिणत भएको छ । बाढीले सबै चिज गुमे त्यहाँका मानिसहरूको वर्षौँको मेहनत, सपना र सम्झनासमेत उजाडिदिएको छ । जहाँ पहिले घरहरू थिए, अहिले ढुङ्गा, बालुवा र गेग्रान मात्रै देखिन्छ ।
आफ्नो घर आँगन र बस्ती रहेको ठाउँलाई बगरमा परिणत भएको देख्दा स्थानीयवासीहरू भावविह्वल छन् । उनीहरू बाढीले निम्त्याएको क्षति सम्झिँदै निराश र पीडामा दिन बिताइरहेका छन् ।
बाढीले घरपरिवार र बसोबासको आधार नै बगाएपछि यहाँका नागरिकको जीवन अझै सहज बन्न सकेको छैन । घटनापछि विभिन्न निकायका अध्ययन तथा अनुगमन टोलीहरू दिनहुँ जसो प्रभावित क्षेत्रमा पुगिरहेका छन् । टोलीहरूले बाढीले पु¥याएको क्षति, भूगोलको अवस्था र जोखिमका विषयमा अध्ययन तथा निरीक्षण गरिरहेका छन् ।
यसबिच प्रभावित क्षेत्रको अवस्था बुझ्न आउने मानिसहरूको आवागमन पनि जारी छ । नदी आसपासको जोखिमपूर्ण भूगोल र त्यहाँका मानिसहरूले गर्नुपरेको कठिन यात्रालाई देखाउने तुइन चढिरहेका मानिसहरूको दृश्यले यहाँको जनजीवनको अर्को पाटो उजागर गर्छ ।
बाढी गएको लामो समय बिते पनि भोटेकोशी किनारको दृश्यले विपद्को पीडा अझै ताजा रहेको देखाउँछ । बस्ती बगरमा परिणत भएको छ, तर त्यहाँका मानिसहरूको मनमा बसेको पीडा र गुमाएका घरपरिवारको सम्झना अझै उस्तै छ ।

























