गृहपृष्ठ कार दुर्घटनामा चारको मृत्यु
कार दुर्घटनामा चारको मृत्यु
रौतहटमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । गौर-चन्द्रनिगाहपुर सडकखण्डको झुनखुनवा नजिकै शनिबार राति करिब १० बजेतिर भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।
चन्द्रनिगाहपुरबाट गौरतर्फ आउँदै गरेको युके १२ सी २९०० नं को सुजुकी स्वीफ्टकार सडकबाट करिब २० मिटर तल पानी भरिएको खाल्डोमा खस्दा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी नारायण चिमोरियाले जानकारी दिए । प्रहरीले घटनास्थलमा पुग्दा चारै जनाको मृत्यु भइसकेको थियो । गाडीमा चार जना सवार रहेको र चारै जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । मृतकको हालसम्म पहिचान खुल्न नसकेको तर उनीहरुको साथबाट फेला परेको कागजात अनुसार मृतक सबै भारतीय नागरिक हुनसक्ने देखिएको उनले जानकारी दिए ।
दुर्घटनाग्रस्त कारलाई राति नै प्रहरीले क्रेनको सहयोगले पानीबाट निकालेको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल गौर ल्याइएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलाउनका लागि भारतीय प्रहरीसँग समन्वय भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चिमोररियाले बताए । प्रारम्भिक अनुसन्धानबाट गाडीमा सवार सबैले अत्याधिक मदिरा सेवन गरेको र चालकले पनि मदिरा सेवन गरेको खुलेको छ । मदिराकै कारण सवारी दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रकाशित समय : १९:०५ बजे



















