गृहपृष्ठ इरानमा नयाँ अमेरिकी आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो
इरानमा नयाँ अमेरिकी आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो
इरानले बुधबार देशको एकमात्र नागरिक आणविक ऊर्जा केन्द्र रहेको बुशेहर बन्दरगाह सहरलाई लक्षित गर्दै अमेरिकाले नयाँ आक्रमण गरेको जनाएको छ । यससँगै अमेरिका र इरानबीच पुनः सुरु भएको सैन्य द्वन्द्व थप चर्किएको छ ।
फेब्रुअरीमा सुरु भएको द्वन्द्व अन्त्य गर्ने उद्देश्यले गत महिना अमेरिका र इरानबीच भएको ‘इस्लामाबाद समझदारीपत्र’पछि केही समय शान्ति कायम भएको थियो । तर पछिल्ला दिनमा दुवै पक्षले पुनः एकअर्काका सैन्य तथा रणनीतिक लक्ष्यमा आक्रमण थालेका छन् ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी)ले बहराइनस्थित अमेरिकी पाँचौँ नौसैनिक बेडालाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ । बहराइनले भने आफ्ना सुरक्षाबलले इरानबाट प्रहार गरिएका क्षेप्यास्त्र र ड्रोनहरू निस्तेज पारेको जनाएको छ । यसैबीच, जोर्डनले पनि इरानबाट प्रहार गरिएका तीन वटा क्षेप्यास्त्र खसालेको जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरान वार्ताको टेबलमा नफर्किए आगामी सातादेखि इरानका ऊर्जा पूर्वाधार, विद्युत् केन्द्र र पुलहरूमा थप आक्रमण गर्ने चेतावनी दिएको छन ।
“अर्को साता उनीहरूका लागि अझ कठिन हुनेछ,” ट्रम्पले फक्स न्युजसँगको अन्तर्वार्तामा भने ।
यद्यपि दुवै पक्षबीचको मध्यस्थतामार्फत जारी कूटनीतिक प्रयास औपचारिक रूपमा भने समाप्त भएको छैन ।
होर्मुज जलसन्धि विवाद पुनः केन्द्रमा
द्वन्द्वको प्रमुख केन्द्र फेरि होर्मुज जलसन्धि बनेको छ । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि इरानले जलसन्धिमा नियन्त्रण कडा बनाउँदै पटक–पटक बन्द गर्ने घोषणा गरेको थियो ।
अमेरिकाले त्यसको जवाफस्वरूप इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी पुनः लागू गरेको छ । यद्यपि ट्रम्पले होर्मुज हुँदै आवतजावत गर्ने जहाजमाथि प्रस्तावित २० प्रतिशत शुल्क लगाउने योजना भने फिर्ता लिएको छ ।
इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले अमेरिकी नाकाबन्दीले ‘इस्लामाबाद समझदारीपत्र’को उल्लङ्घन गरेको आरोप लगाएको छन् ।
बुशेहरसहित दक्षिणी क्षेत्रमा विस्फोटः
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले व्यावसायिक जहाज र समुद्री सुरक्षामा इरानको खतरा कम गर्न होर्मुज जलसन्धि र तटीय क्षेत्रमा दर्जनौँ सैन्य लक्ष्यमा आक्रमण गरिएको जनाएको छ ।
इरानी सञ्चारमाध्यमका अनुसार बन्दर अब्बास, केश्म टापु, बन्दर इमाम खोमेनी र बुशेहर क्षेत्रमा विस्फोट भएका छन् । बुशेहरमा इरानको एकमात्र नागरिक आणविक ऊर्जा केन्द्र रहेको छ ।
समुद्री सुरक्षा र मानवीय असरः
इरानले अमेरिकी आक्रमण जारी रहेसम्म होर्मुज जलसन्धि बन्द रहने दोहो¥याएको छ ।सेन्टकमका प्रमुख एडमिरल ब्राड कुपरले गत सातामात्र इरानले सात वटा व्यावसायिक जहाजमाथि आक्रमण गरेको र त्यसबाट सर्वसाधारण चालक दलका सदस्य मारिएको, घाइते भएको वा बेपत्ता भएको आरोप लगाएको छन ।
सङ्कट व्यवस्थापन कम्पनी एमटीआई नेटवर्कका अनुसार मङ्गलबार ओमानको तट नजिकै अज्ञात विस्फोटबाट एक नर्वेली तेल ट्याङ्करमा क्षति पुगेको छ ।
कुवेतले पनि इरानी क्षेप्यास्त्र र ड्रोन आक्रमणका क्रममा आफ्ना नौसैनिक जहाजमध्ये एउटामा क्षति पुग्दा चालक दलका चार सदस्य घाइते भएको जनाएको छ ।
हताहती र क्षेत्रीय चेतावनीः
इरानी सरकारी प्रवक्ता फातेमेह मोहाजेरानीका अनुसार, गत सातायता अमेरिकी आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । दक्षिणपूर्वी क्षेत्रमा भएको छुट्टै आक्रमणमा सात सैनिक मारिएको इरानी सेनाले जनाएको छ ।
यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले इजरायलमाथि आक्रमण गरे त्यसको कडा जवाफ दिइने चेतावनी दिएको छन । उनले इरानी नेतृत्वलाई सम्बोधन गर्दै भने “यदि तिमीहरूले हामीमाथि आक्रमण गर्यौ भने अवस्था शान्त रहन्छ भन्ने नसोच ।”रासस
प्रकाशित समय : १८:५२ बजे



















