गृहपृष्ठ सवारी नवीकरण गर्न चालक–सहचालकको कर कट्टी प्रमाण अनिवार्य
सवारी नवीकरण गर्न चालक–सहचालकको कर कट्टी प्रमाण अनिवार्य
काठमाडौं। सार्वजनिक यातायात तथा ढुवानीका सवारीसाधनको दर्ता वा नवीकरण गर्दा अब चालक, सहचालक तथा सहयोगीको पारिश्रमिकबाट कर कट्टी गरी सरकारी राजस्व खातामा दाखिला गरेको प्रमाण पेस गर्नुपर्ने भएको छ।
आन्तरिक राजस्व विभागले यातायात व्यवस्था विभागलाई पत्राचार गर्दै सवारी दर्ता तथा नवीकरण प्रक्रियामा यस्तो व्यवस्था लागू गर्न अनुरोध गरेको हो।
विभागले आयकर ऐन, २०५८ मा भएको व्यवस्थाअनुसार करयोग्य आय आर्जन गर्ने व्यक्तिको पारिश्रमिकबाट नियमानुसार कर कट्टी गरी राजस्व खातामा दाखिला गर्नुपर्ने दायित्व रहेको स्मरण गराएको छ।
भाडाका सवारी तथा ढुवानीका साधनमा कार्यरत चालक, सहचालक र सहयोगीलाई पारिश्रमिक भुक्तानी गर्दा सम्बन्धित सवारीधनी वा रोजगारदाताले स्रोतमा कर कट्टी (टीडीएस) गरी सरकारलाई बुझाउनुपर्ने कानुनी व्यवस्था छ। तर, धेरै सवारीधनीले यस्तो व्यवस्था पालना नगरेको र कामदारको पारिश्रमिकको अभिलेखसमेत व्यवस्थित नरहेको पाइएको विभागको भनाइ छ।
राजस्व विभागले अब सवारीधनीले आफ्ना सवारीमा कार्यरत चालक, सहचालक तथा सहयोगीको पारिश्रमिक विवरणसहित उक्त पारिश्रमिकबाट कर कट्टी गरी सरकारी खातामा जम्मा गरेको प्रमाण पेस गर्नुपर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ।
विभागका अनुसार कर कट्टी गरेको प्रमाण पेस नगरेसम्म सवारीसाधनको दर्ता वा नवीकरण प्रक्रिया अघि नबढ्ने गरी आवश्यक व्यवस्था गर्न यातायात व्यवस्था विभागलाई अनुरोध गरिएको छ।
राजस्व प्रशासनलाई प्रभावकारी बनाउने, करको दायरा विस्तार गर्ने तथा यातायात क्षेत्रमा कार्यरत श्रमिकको आय अभिलेखीकरण गर्ने उद्देश्यले यस्तो व्यवस्था लागू गर्न लागिएको विभागले जनाएको छ।
प्रकाशित समय : १८:११ बजे



















