मृतकका परिवारलाई ३० लाख सहयोग
वि.सं.२०७८ कात्तिक १४ आइतवार १६:२६
shares

ट्याक्टर दुर्घटामा मृत्यु भएका मजदुरका परिवारलाई ३० लाख सहयोग हस्तान्तरण गरिएको छ । मृत्यु भएका छ जना परिवारलाई प्रतिपरिवार पाँच लाखका दरले राप्ती नगरपालिकाकाले सहयोग गरेको हो ।
२०७७ चैत २९ गते पूर्वी चितवनको राप्ती-११ स्थित चिउरीखोलामा ना१त ६२८२ नंको ट्याक्टर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा घर ढलान गरेर फर्किँदै गरेका छ मजदुरको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । नगर प्रमुख प्रभा बरालले दुर्घटनामा ज्यान गुमाएका परिवारलाई राहातस्वरुप सहयोग गरिएको जानकारी दिए । पाँच परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । एक मृतकका दुईवटी श्रीमतीतर्फ चार छोराछोरी रहेकाले चारै जनालाई बराबर हुने गरी दिने व्यवस्था गरिएको उनले जानकारी दिए । उक्त परिवारलाई जिल्ला प्रशासन कार्यालयका रोहवरमा हस्तान्तरण गर्ने व्यवस्था गरिएको छ ।
राप्ती नगरपालिकाले रु १५ लाख, खैरहनी नगरपालिकाले पाँच लाख, पूर्वी चितवन भवन निर्माण व्यवसायी संघले चार लाख, ठेकेदारले चार लाख र ट्याक्टरधनीले दुई लाख गरी ३० लाख जम्मा गरेर सहयोग गरेको जनाइएको छ । राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगाबहादुर भुजेलले दुर्घटनाका घाइतेको उपचारमा ५० लाखभन्दा बढी खर्च भएको बताए । सो खर्च टयाक्टर धनी, ठेकेदार र व्यवसायी संघसँग समन्वय गरी उपचार गरिएको जानकारी दिए । उनले जनप्रतिनिधिका समन्वयमा अस्पतालबाट सात लाख बराबरको छुट गराइएको जानकारी दिए ।
राप्ती-११ को वडा कार्यालय भवन ढलानको काम सकेर फर्किँदै गरेका कामदार सवार ट्याक्टर दुर्घटना हुँदा राप्ती-५ का ३५ वर्षीय खड्क लामा, राप्ती-४ का ४५ वर्षीय सीताराम श्रेष्ठ, खैरहनी नगरपालिका-९ का ४० वर्षीय मगन महतो, खैरहनी-९ कै ५० वर्षीया छनिया महतो र मकवानपुरको राक्सीराङका एक जनाको मृत्यु भएको थियो ।

























