नाडाको ४५ ओं वार्षिक साधारण सभा तथा निर्वाचन मंसिरमा सम्पन्न हुने
वि.सं.२०७८ असोज १० आइतवार १६:२९
shares

नाडाको ४५ ओं वार्षिक साधारण सभा तथा निर्वाचन २०७८ साल मसिंर २२ र २३ गते होटेल सोल्टीमा सम्पन्न हुने नाडाले जनाएको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको अध्यक्षतामा गत शुक्रबार होटेल सोल्टीमा बसेको केन्द्रीय कार्य समितिको बैठकले सो निर्णय गरेको हो ।
नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई वर्षमा अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन गरिसकेको जनाएको छ । सो बैठकमा अध्यक्ष दुलालले नाडाको ट्राफिक जनचेतनासम्बन्धी कार्यक्रमलाई देशव्यापी बनाउन नाडाका ७ वटा प्रदेशस्तरीय एशोसिएशनका अध्यक्षहरुलाई ट्राफिक ज्याकेटलगायत, जनचेतनामूलक स्टिकर, र कोभिडविरुद्धको मास्कसमेत हस्तान्तरण गरेको नाडाले जनाएको छ ।
नाडाका अनुसार ती सामानहरु नाडाका प्रदेश एशोसिएशनहरुले सम्बन्धित ट्राफिक कार्यालयमार्फत वितरण गर्ने छन् । नाडाले गत भाद्र २५ गते त्रिपुरेश्वर चोकमा महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहयोग र सहभागितामा त्यस्ता सामानहरु वितरण गरेको थियो ।

























