काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय उमेर समूह पौडी प्रतियोगिताको टाइटल स्पोन्सर

1.16K
shares

नेपालगन्ज । नबिल बैंकले तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय उमेर समूह पौडी प्रतियोगिताको टाइटल स्पोन्सर गर्ने भएको छ। प्रतियोगिताको टाइटल स्पोन्सरसम्बन्धी सम्झौतामा आयोजक नेपालगन्ज स्वीमिङ क्लब बाँकेका अध्यक्ष केशवराज न्यौपाने र बैंकका नेपालगन्ज शाखा प्रबन्धक राधाकृष्ण पोखरेलले बुधबार नेपालगन्जमा हस्ताक्षर गर्नुभएको छ।

नेपालगन्ज रंगशाला परिसरमा रहेको पौडी पोखरीमा आगामी कात्तिक १४ र १५ गते आयोजना हुने प्रतियोगितामा भारतको नयाँ दिल्ली र पञ्जाबका साथै नेपालका सबै प्रदेशबाट २०० भन्दा बढी खेलाडी सहभागी हुने क्लबका अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो।

प्रतियोगितामा ८ देखि १७ वर्ष उमेर समूहका खेलाडी तथा १७ वर्षभन्दा माथिका खेलाडीबीच खुला प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा फ्रिस्टाइल, ब्रेस्टस्ट्रोक, ब्याकस्ट्रोक, बटरफ्लाई, रिले तथा व्यक्तिगत विधासहित ८० वटा इभेन्ट सञ्चालन गरिने प्रतियोगिताका प्राविधिक निर्देशक विष्णु खड्का क्षेत्रीले जानकारी दिनुभयो। प्रतियोगितामा सहभागी हुने खेलाडीहरूले बुधबारदेखि नै नेपालगन्ज रंगशाला परिसरको पौडी पोखरीमा अभ्यास सुरु गरेका छन्।

नेपाल पौडी संघको वार्षिक क्यालेन्डर तथा प्राविधिक सहयोगमा आयोजना हुन लागेको प्रतियोगितामा नेपालगन्ज उपमहानगरपालिका, लुम्बिनी खेलकुद परिषद् र कोहलपुर नगरपालिकाले सहकार्य गरेका छन्। प्रतियोगिता निर्देशक सूर्यमणि अधिकारीका अनुसार विद्यालय साझेदारका रूपमा शिखा एकेडेमी कोहलपुर, आदर्श मावि नेपालगन्ज र बागेश्वरी एकेडेमी कोहलपुर रहेका छन्। त्यस्तै, स्क्रिन पार्टनरका रूपमा डर्मा अर्थ र आईटी पार्टनरका रूपमा टेक्नो फन्ट रहेका छन्।

बाँके जिल्लाबाहिरबाट प्रतियोगितामा सहभागी हुन आउने खेलाडीहरूका लागि नेपालगन्ज स्वीमिङ क्लबले निःशुल्क आवास तथा खानाको व्यवस्था गरेको छ। खेलाडीहरूलाई होटल सिद्धार्थ, सिटी प्यालेस, होटल कल्पतरु, स्नेह र डायमण्ड प्यालेसमा बसोबासको व्यवस्था मिलाइएको क्लबले जनाएको छ।

प्रतियोगिताले नेपाली पौडी खेलको विकास, उमेर समूहका प्रतिभावान् खेलाडीको पहिचान तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक अनुभव हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।