इन्फोडेभलपर्स र मुक्तिनाथ विकास बैंकबीच ‘पुमोरी नेक्स्टजेन’ प्रणाली कार्यान्वयनका लागि सम्झौता
वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १०:३३
shares

काठमाडौं – इन्फोडेभलपर्स प्रा.लि. र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच ‘पुमोरी नेक्स्टजेन’ कोर बैंकिङ प्रणाली कार्यान्वयनका लागि समझदारीपत्र (Memorandum of Understanding – MOU) मा हस्ताक्षर भएको छ।
उक्त समझदारीपत्रमा मुक्तिनाथ विकास बैंक लिमिटेडका प्रमुख सञ्चालन अधिकृत (COO) प्रेम थापा तथा इन्फोडेभलपर्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (CEO) प्रजय नेपालको उपस्थितिमा हस्ताक्षर गरेका हुन।
यो समझदारी नेपालको बैंकिङ तथा वित्तीय क्षेत्रमा डिजिटल प्रविधि क्षमता अभिवृद्धि तथा आधुनिक वित्तीय प्रविधि पूर्वाधार निर्माणतर्फको अर्को महत्त्वपूर्ण कदम हो। यस सहकार्यले मुक्तिनाथ विकास बैंकको डिजिटल बैंकिङ क्षमता तथा प्रविधिगत पूर्वाधारलाई थप सुदृढ बनाउने अपेक्षा गरेको छ।
इन्फोडेभलपर्सद्वारा विकसित ‘पुमोरी नेक्स्टजेन’ एक आधुनिक, वेबमा आधारित तथा पूर्ण रूपमा API-integrated कोर बैंकिङ प्लेटफर्म हो, जसले प्रभावकारी, विस्तारयोग्य र सुरक्षित बैंकिङ सञ्चालनलाई सुनिश्चित गर्दछ। यसको API-आधारित संरचनाले डिजिटल बैंकिङ च्यानलहरू, तेस्रो-पक्षीय एप्लिकेसनहरू (third-party applications), भुक्तानी गेटवेहरू तथा अन्य इन्टरप्राइज प्रणालीहरूसँग सहज एकीकरण (integration) सम्भव बनाउँछ, जसले मुक्तिनाथ विकास बैंकलाई भविष्यका डिजिटल नवप्रवर्तनका लागि तयार बनाउँछ।
यस सहकार्यमार्फत इन्फोडेभलपर्सले मुक्तिनाथ विकास बैंकको कोर बैंकिङ पूर्वाधारलाई आधुनिकीकरण गर्न सहयोग गर्नेछ, जसबाट बैंकले छिटो, सुरक्षित तथा ग्राहककेन्द्रित वित्तीय सेवाहरू प्रवाह गर्न सकिनेछ।

























