लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त
वि.सं.२०७८ साउन २८ बिहीवार २२:०२
shares

लुम्बिनी प्रदेशका माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
बुधबार एमाले नेता शंकर पोखरेलले पदबाट राजीनामा दिएपछि केसीले बिहीबार बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । माओवादी केन्द्रको नेतृत्वमा बन्ने सरकार आठ/आठ महिना कांग्रेस र माओवादीले चलाउने सहमति भएको छ ।
को हुन् नयाँ मुख्यमन्त्री केसी ?
नेकपा (मसाल)को विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका कुलप्रसाद केसी रोल्पाको लिवाङमा जन्मिएका हुन् । तत्कालीन नेकपा (माओवादी)ले सुरु गरेको सशस्त्र विद्रोहमा जनमुक्ति सेनाका डिभिजन कमाण्डर भएका केसी शान्ति सम्झौतापछि माओवादी फुट्दा मोहन वैद्य ‘किरण’सँग लागेका थिए ।
२०६९ मा वैद्यको पार्टीमा लागेका केसी ०७३ सालमा प्रचण्ड नेतृत्वको माओवादीमा फर्किएर प्रत्यक्षतर्फ रोल्पा १ बाट निर्वाचित भएका थिए । उनी शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत थिए ।
























