बेइजिङले कोभिड प्रभावित क्षेत्रबाट हुने आन्तरिक यात्रामा प्रतिबन्ध लगाउने
वि.सं.२०७८ साउन २४ आइतवार २१:१६
shares

कोभिड-१९ को संक्रमण भएका क्षेत्रबाट चीन आएका यात्रीमाथि प्रतिबन्ध लगाएर कोभिड-१९ महामारी फैलिन नदिन चीनको राजधानी बेइजिङले विभिन्न उपाय तय गरेको छ । ग्लोबल टाइम्सका अनुसार बेइजिङमा फर्कने योजना बनाएका मध्यम वा उच्च जोखिम भएका क्षेत्रका वासिन्दालाई हवाई तथा रेल सेवाका लागि टिकट बिक्री तत्कालका लागि रोकिने छ ।
बेइजिङका अधिकारीले मध्यम र उच्च जोखिमयुक्त क्षेत्रमा रहेका मानिसहरुका लागि स्वास्थ्य कोडलाई अझै जोखिमको क्षेत्र संकेत गर्ने ‘पहेँलो रङ’ मा राखिनेछ । स्वास्थ्य संकेत हरियो भएका स्थानका मानिसहरूले भने कुनै अवरोध बिना बेइजिङतर्फ जाने विमान वा रेलमा चढ्न दिइने छ । चीनका विभिन्न प्रान्त वा सहरबाट नै राजधानी बेइजिङ जान हरियो संकेत हुनु जरुरी हुनेछ ।चीनका थुप्रै सहरमा पुनः कोभिड-१९ संक्रमित भेटिन थालेपछि र उनीहरूमा समुदायबाटै संक्रमण सरेको पुष्टि भएपछि चीनको राजधानीमा उच्च सतर्कताका लागि यो कदम चालिएको हो ।
चीनका १५ प्रान्त तथा नगरपालिकामा ५०० भन्दा बढी व्यक्तिमा ‘डेल्टा भेरियन्ट’ को प्रभाब देखिएको छ । बेइजिङको ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलले नान्जिङ, याङजाउ र झाङजियाजी जस्ता संक्रमित भेटिएका र संक्रमित रहेको १५ सहरबाट उडान भर्न रोक लगाएको घोषणा गरेको छ ।
विमानस्थलका उप महाप्रबन्धक वेन वुले भने, 'बेइजिङ ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलले नान्जिङ, याङजाउ र झाङजियाजी जस्ता १५ सहरबाट उडान मार्गलाई अर्को सूचना जारी नहुँदासम्मका लागि निलम्बन गरेको छ । वुले उडानमा लगाइएको प्रतिबन्ध संक्रमण विस्तार नहोस् भनेर गरिएको बताए । नयाँ कोभिड-१९ संक्रमितको संख्या बढ्न थालेपछि बेइजिङ अन्तर्राष्ट्रिय फिल्म मेला स्थगित गरिएको स्पुतनिकले गत बिहीबारको घटनाको आधिकारिक बयान उद्धृत गर्दै रिपोर्ट गरेको छ ।
'देशका धेरै क्षेत्रहरूमा हालै महामारीको प्रकोपका कारण, सुरुमा अगस्त १४-२१ का लागि तय गरिएको ११औं बेइजिङ इन्टरनेशनल फिल्म फेस्टिभल सामान्य सुरक्षा र स्वास्थ्यका कारण स्थगित गरिनेछ,' मेला आयोजक समितिले जानकारी गराएको छ । तथापि, आयोजकहरूले यो मेला कहिले हुनेछ भन्नेबारे केही नबताएका स्पुतनिकले उल्लेख गरेको छ ।
























