नेपाल टेलिकम भैरहवाद्वारा एनटी टीभी ब्राण्डमा आईपी टीभी सेवाको सुरूवात
वि.सं.२०७८ असार ७ सोमवार १९:३४
shares

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाले आइतबारदेखि एफटीटीएच (Fiber To The Home-FTTH) मार्फत् आईपी टीभी सेवा सञ्चालनमा ल्याएको छ । एनटी टिभी ब्राण्डको यो सेवा प्रथम चरणमा लुम्बिनी प्रदेशका भैरहवा, बुटवल, तानसेन, तम्घास, सन्धिखर्क, परासी र तौलिहवा लगायतका स्थानहरुमा वितरण सुरु गरिएको हो ।
नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाका निर्देशक झविन्द्र उपाध्यायले आगामी दिनमा निर्देशनालय मातहतका सबै क्षेत्रमा यो सेवाको विस्तार गर्ने तयारी भइरहेको बताए । टेलिकमले एफटीटीएच सेवाबाट हालसम्म भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकोमा एनटी टीभी सेवा पनि उपलब्ध गराएपश्चात् ट्रिपल प्लेको अवधारणा कार्यान्वयनमा आउने भएको हो । हाल वितरित एनटी टीभी सेवामा मुलुकका राष्ट्रिय प्रसारण र क्षेत्रीय प्रसारणका सबै टेलिभिजन च्यानल उपलब्ध रहेका छन् ।
यसका साथै नेपालमा उपलब्ध र हेरिने प्राय सबै विदेशी टेलिभिजन च्यानल ग्राहकलाई उपलब्ध हुनेछ । हाल कम्पनीले वेसिक र प्रिमियम गरी दुई प्याकेजमा एनटी टीभी सेवा उपलब्ध गराइरहेको छ । वेसिकमा १०२ वटा टेलिभिजन च्यानल र प्रिमियममा १८५ वटा टेलिभिजन च्यानल हेर्न सकिने टेलिकमले जनाएको छ । टेलिकमले २०७७ पुष १७ गते (१ जनवरी २०२१) मा सर्वप्रथम एनटी टीभी सेवाको वितरण सुरु गरेको थियो । हाल यो सेवा काठमाडौ उपत्यकाबाहेक बनेपा र चितवनमा पनि उपलब्ध छ ।
एनटी टीभी सेवाको प्याकेज तथा दररेट र सेवा उपलब्ध हुने स्थानसम्बन्धी विस्तृत विवरण कम्पनीको वेबसाइट https://ntc.net.np/tariff/ftth-tariff मा उपलब्ध छ ।

























