‘समाचार स्रोत खोज्नु गैरसंवैधानिक र राज्यको अपराधिक चरित्र’
वि.सं.२०८३ कात्तिक १४ शनिवार १८:३८
shares

काठमाडौं । पत्रकारमाथि धरपकड र संचारगृहमा प्रहरीको प्रवेश वर्तमान सरकारको गैरसंविधानिक कदम भएको भन्दै पत्रकार नेताहरुले आक्रोश व्यक्त गरेका छन् ।
शनिबार काठमाडौंमा भएको अन्तरक्रियामा उनिहरुले प्रेसमाथिको प्रहारले सरकारले शाहीकालिन झल्को दिएको र उसले पतनको बाटो रोजेको समेत बताए ।
नेपाल प्रेस युनियनका महासचिव दिलिप पौडेलले वर्तमान सरकारको प्रेस स्वतन्त्रतामाथि सिधासिधा हस्तक्षेपले लोकतन्त्रको घाँटी निमोठ्न खोजेको आरोप लगाए ।
‘बालेन सरकार आउने वित्तिकै विज्ञापन रोकेर आर्थिक नाकाबन्दी गर्यो, त्यसपछि लगातार पत्रकार पक्रने कार्य जारी भयो, अहिले आएर शाहीकाललाई माथ खुवाने अभ्यास गरिएको छ ।’
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वर्तमान सरकारले आफ्ना गलत कदमहरुको ढकाछोप गर्न सञ्चारजगतमाथि प्रहार गरेको आरोप लगाएका छन् । ‘कानुनी राज्य कसैको सनकले राज्य चल्दैन, बालेन जी सनकी तानाशाह बन्न खोजेको हो, त्यसो हो भने यो देशमा संविधान छ, कानुन छ, तपाईको भारदारी प्रथा चल्दैन,’ त्रिपाठीले भने ।
गैरकानुनीरुपमा गिरफ्तार गरेर अपराधिक चरित्र देखाएको बताउँदै भने,‘स्वतन्त्र प्रेस भनेको लोकतन्त्रको अक्सिजन हो, जनताको मुटु हो, के संवैधानिक व्यवस्था निलम्बित भएको हो र ।’ त्रिपाठिले पत्रकारलाई नियन्त्रणमा लिएर समाचार स्रोत खोज्नुले अपराधिक चिरित्र देखाएको दाबी गरे ।
प्रेस सेन्टर नेपालका उप–माहासचिव बुद्ध लोप्चनले लोकतन्त्रको मुख्य रक्षक मिडिया जगतलाई आतंकित बनाउने कार्य भत्र्सनायोग्य रहेको बताए । लोप्चनले पत्रकारलाई नियन्तरणमा लिने कार्यले सरकार कता जाँदै छ र यसले के गर्न खोज्दैछ भन्ने गम्भीर प्रश्न उठेको धारणा राखे ।
मोटिभेट न्यूजका प्रधान सम्पादक शोभराज बरालले आफूलाई आफ्नै कार्यालयबाट नियन्त्रणमा लिएको र प्रहरीले समाचार स्रोत बारे सोधीखोजि गरिएको बताए ।
डिएनए खबरका सम्पादक धिरज बस्नेतले आफूलाई पनि इसेवा स्क्याम भएको भनेर झुक्याएर अपराध महाशाखा लगेको बताए ।





















