Nepalese Flag २०७८ साउन १८ गते सोमबार   |   August 02, 2021

कोरोनाबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन

न्युज कारोबार काभ्रे असार ५, २०७८       

कोरोनाबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन फाइल तस्बिर

कोरोना संक्रमणबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन गर्न थालिएको छ । काठमाडौको पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा घण्टौँ पालो कुर्नुपर्ने अवस्था आएपछि वैकल्पिक शव व्यवस्थापनस्वरुप काभ्रेमै व्यवस्थापन सुरु गरिएको जनाइएको छ । 

जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र ९डीसीसीएमसी०ले कोरोना संक्रमणबाट मृत्युदर बढ्दै गएपछि जिल्लामै शव व्यवस्थापन गर्न गत महिना वैकल्पिक तयारीको निर्णयसमेत गरेको थियो । ‘काठमाडौको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा पालो कुर्नुपर्ने अवस्था आएपछि जिल्लामै वैकल्पिक व्यवस्थापन थालिएको हो,’ केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भने ।

पोखरेलका अनुसार हाल जिल्लाका कोरोना संक्रमितको शव जिल्लाका स्थानीय घाटमा जलाउन थालिएको हो भने अन्य जिल्लाका कोरोना संक्रमितको शव व्यवस्थापन गर्न काठमाडौ लैजाने गरिएको छ । जिल्लास्थित अस्पतालमा उपचाररत कोरोनाको बिरामीको मृत्यु भएकाको काभ्रेपलाञ्चोकमै व्यवस्थापन गर्नसमेत थप तयारी गरिनेछ । वैकल्पिक शव व्यवस्थापन तयारीले पछिल्लो समयका विभिन्न रिपोर्टमा जनाइएअनुसार ‘तेस्रो भेरिएन्ट’को सम्भावना र त्यसको सम्भावित क्षतिको अवस्थामा निकै सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

हाल पाँचखाल नगरपालिकाले भुम्लु गाउँपालिकाको सिमानामा पर्ने दोलालघाट बगर, रोशी गाउँपालिकाले स्थानीय भ्याकुरे खोला, चतुरेफेदी घाट र चरुंगेफेदी घाट, पनौती नगरपालिकाको भालेश्वर मन्दिर घाटमा कोरोना संक्रमितको शव व्यवस्थापन थालिएको पोखरेलले जानकारी दिए । ‘मृतकका आफन्तले शव व्यवस्थापनमा सहभागी हुन चाहेमा स्वास्थ्यका मापदण्डअनुसार दिन सकिने योजनामा पनि छौँ,’ उनले भने । सदरमुकाम धुलिखेल र आसपासको बनेपा र पनौती नगरले कोरोना संक्रमितको शव ब्यवस्थापनमा साझा स्थानको खोजी भइरहेको जनाएका छन् ।

काभ्रेमा कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्न धुलिखेलस्थित कालीजंग गणका नेपाली सेनाद्वारा काठमाडौको पशुपतिस्थित शवदाह गृह लैजाने गरिएको थियो । पनौती नगरले भने स्थानीय छ घाटमा कोरोना संक्रमितको शव व्यवस्थापन गर्न सकिने जनाएको छ । नगरप्रमुख भिमप्रसाद न्यौपानेले होम आइसोलेसनमा मृत्यु भएकाको शव व्यवस्थापन गर्न चार थान पीपीई–सेट तथा शव–बाकस व्यवस्थापन गर्न सकिने बताए । केन्द्रद्वारा स्थानीय तहलाई कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन स्थल पहिचान गरी पठाउन आग्रह गरेअनुसार जेठ पहिलो साता स्थानीय तहबाट पहिचान भई आएको छ स्थानमा शव व्यवस्थापन गर्न सकिने जनाइएको छ ।

कोशीपूर्वस्थित चौंरीदेउराली गाउँपालिकाले गतसाता कोरोनाको दोस्रो लहर सुरु भएयता पहिलो पटक स्थानीय एकको मृत्यु भएपछि स्थानीयस्तरमै शव व्यवस्थापन गरेको थियो । सदरमुकामभन्दा टाढा रहेका पाँचखाल, मण्डनदेउपुर, चौंरीदेउराली, भुम्लु, खानीखोला र रोशीले मात्रै शव व्यवस्थापन गर्न सकिने स्थान पहिचान गरी पठाएको केन्द्रले जनायो । ‘सदरमुकामभन्दा टाढाका स्थानीय तहले मात्रै स्थान पहिचान गरी पठाएकाले टाढा लैजान थप जनशक्ति र खर्च लाग्ने भएकाले नजिकको स्थान पहिचानमासमेत लागेका छौँ,’ पोखरेलले भने ।

काभ्रेमा ६ नगरपालिका र सात गाउँपालिका छन् । यसैबीच, काभ्रेमा पछिल्लो हप्तादेखि संक्रमणदर घटेको र संक्रमणमुक्त हुनेको संख्या बढेको केन्द्रको तथ्यांकले देखाएको छ । पछिल्लो २४ घण्टामा ३८ मा कोरोना संक्रमण पुष्टि भयो भने १२७ संक्रमणमुक्त भएका छन् । अघिल्लो दिन ४० मा कोरोना संक्रमण देखियो भने २६३ संक्रमणमुक्त भएका थिए । पछिल्लो केही दिनदेखि जिल्लामा मृत्युदर संख्या शून्यमा ओर्लिरहेको केन्द्रको तथ्यांकले देखाएको छ । हालसम्म काभ्रेमा १५९ कोरोना संक्रमितको मृत्यु भएको छ ।

हाल जिल्लामा एक हजार ५६ सक्रिय संक्रमितमध्ये बनेपा नगरमा २३४, पाँचखालमा ७६, धुलिखेलमा १८७, पनौतीमा १३०, नमोबुद्धमा ७३, मण्डनदेउपुरमा ३८ तथा चौंरीदेउरालीमा ५०, रोशीमा ६५, तेमालमा १४, भुम्लु ५७, खानीखोलामा ११, बेथानचोकमा १७ र महाभारत गाउँपालिकामा १०४ रहेको केन्द्रले जनाएको छ । (रासस)

सम्बन्धित खबरहरु