विश्वकप छनोट फुटबल : ताइपेइविरूद्ध नेपालकाे सहज जित
वि.सं.२०७८ जेठ २१ शुक्रवार ०५:३०
shares
फाइल तस्बिर ।
फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले दोस्रो जित निकालेको छ । कुवेतमा बिहीबार भएको खेलमा नेपालले चाइनिज ताइपेइलाई २-० गोल अन्तरले पराजित गरेकाे हो ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपालकाे जितमा अन्जन विष्ट र नवयुग श्रेष्ठले एक/एक गोल गरे । खेलको चौंथो मिनेटमा अन्जनले पेनाल्टीमार्फत गाेल गरेका थिए । ८२औं मिनेटमा परिवर्तित खेलाडीको रुपमा मैदान छिरेका नवयुगले गोल गरेपछि नेपालकाे जित सम्भव भएकाे हाे ।
जितसँगै छनोटको समूह 'बी' मा रहेको नेपालले ६ खेलमा ६ अंक जोडेको छ । नेपाल तालिकाको चौंथो स्थानमा रहेको छ । ताइपेइको यो छैटौं हार हो । अंकविहीन ताईपे तालिकाको पुछारमा रहेको छ ।
अब नेपालले जेठ २५ मा जोर्डन र २८ मा एसियाली पावर हाउस अष्ट्रेलियाको सामना गर्नेछ । छनाेट खेलअघि नेपालले इराकसँग उसकै घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेलकाे थियाे ।

























