काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

इजरायलमा बुधबार राष्ट्रपतिको चुनाव

12.75K
shares

इजरायलको संसदले बुधबार इजरायलमा नयाँ राष्ट्रपतिको चयन गर्दैछ । राष्ट्रपतिको निर्वाचन इजरायली संसद नेसेटमा हुनेछ ।

इजरायलको संसदमा १२० जना सांसदहरु रहेका र उनीहरुले नै राष्ट्रपतिको चयन गर्नेछन् । चुनावमा दुई जना प्रतिस्पर्धी रहेका छन् । राष्ट्रपति पदमा उम्मेदवारमध्ये एक जना वरिष्ट राजनीतिज्ञ आइज्याक हर्जोग र अर्का शिक्षाविद मिरियम पेरेज रहेका छन् । साठी वर्षीय हर्जोग यसअघि इजरायलको लाबोर पार्टीका पूर्व प्रमुख थिए । साथै उनी संसदमा विपक्षी दलको नेता पनि रहेका थिए । सन् २०१३ को संसदीय निर्वाचनमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको विपक्षमा चुनावमा उठेका थिए । उनी इजरायलको प्रभावशाली जियोनिस्ट परिवारका सदस्य छन् । उनका बुबा चाइम हर्जोग पनि इजरायलको राष्ट्रपति र संयुक्त राष्ट्रसंघका लागि इजरायली राजदूत थिए । उनका काका अब्बा एबान पनि इजरायलको पहिलो विदेशमन्त्री रहेका थिए ।

अर्की उम्मेदवार ६७ वर्षीय पेरेज बढी अनुदारवादी र राष्ट्रवादी स्वभावकी छन् । उनी मोरक्कोबाट सानैमा इजरायल आएकी थिइन् । उनले इजरायलमा शिक्षिका, शिक्षाकर्मी र यहूदी धर्मको बारेमा अध्यापकका रुपमा सेवा गरेकी छन् । उनका दुई छोराको इजरायली सैनिक सेवामै रहँदा मृत्यु भएको छ । सन् २०१८ मा उनलाई इजरायलको सर्वोच्च पदक 'इजरायल प्राइज' बाट सम्मानित गरिएको थियो । यदि निर्वाचित भए उनी इजरायलको पहिलो महिला राष्ट्रपति बन्नेछन् ।

राष्ट्रपतिमा निर्वाचित हुन इजरायली संसद नेसेटको १२० स्थानमध्ये कम्तीमा ६१ स्थान प्राप्त गर्नुपर्दछ । कुनै उम्मेदवारले उक्त मत प्राप्त गर्न नसके दोस्रो चरणको मतदान हुनेछ । विजयी उम्मेदवारले आगामी जुलाई ९ बाट कार्यभार सम्हाल्नेछन् । विजयी उम्मेदवारले वर्तमान राष्ट्रपति रुभेन रिभलिनलाई प्रतिस्थापन गर्नेछन् । उनको कार्यकाल अर्को महिना समाप्त हुँदैछ । राष्ट्रप्रमुखका रुपमा रहने भए पनि इजरायलको राष्ट्रपति सम्मानित पद मात्र हुन्छ, र कार्यकारी अधिकार प्रधानमन्त्रीमा निहित हुन्छ ।