संविधानसभा सदस्य भण्डारीको निधन, कांग्रेसद्वारा शोक व्यक्त
वि.सं.२०७७ चैत १६ सोमवार १९:३१
shares

संविधानसभा सदस्य लक्ष्मीदेवी भण्डारीको निधन भएको छ । सोमबार बिहान ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७१ वर्षको उमेरमा निधन भएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
धनुषाको जनकपुर उपमहानगरपालिका निवासी स्व. भण्डारी २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत नेपाली कांग्रेसको तर्फबाट संविधानसभा सदस्यमा निर्वाचित भएकी थिइन् । स्व. भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको वक्तव्यमा उल्लेख छ । स्व. भण्डारीको निधनबाट नेपाली कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाएको छ ।
उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । संविधान सभा सदस्य लक्ष्मीदेवी भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह गरेको भूमिकाको स्मरण गर्दै सभापति देउवाले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

























