अमेरिकाको कोलोराडोमा गोलाबारी, प्रहरी अधिकृतसहित १० जनाको मृत्यु
वि.सं.२०७७ चैत १० मंगलवार १७:३६
shares

अमेरिकाको कोलोराडो राज्यस्थित बोल्डर सहरमा अन्धाधुन्ध गोली प्रहार हुँदा एक प्रहरी अधिकृतसहित १० जनाको मृत्यु भएको छ । बोल्डर सहरको टेबल मेसा इलाकाको एक सुपरमार्केटमा स्थानीय समयअनुसार सोमबार दिउँसो ३ बजे एक बन्दुकधारीले अन्धाधुन्ध गोलाबारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएकाे छ ।
प्रहरीले हाल एक संदिग्धलाई गिरफ्तार गरिसकेको छ । यो गोलाबारी पछाडिको कारण भने अनुसन्धानको क्रममा रहेकाे स्थानीय सुरक्षा निकायले जनाएकाे छ ।
घटनाका बेला सुपरमार्केटभित्रै रहेका प्रत्यक्षदर्शीले गोलीको आवाज सुनेपछि आफूहरु पछाडिको बाटो हुँदै बाहिर निस्किएको बताए । कम्तिमा आठ गनशट सुन्ने रयान बोरोव्स्कीले सीएनएनसँग भनेका छन्, ‘एउटा सोडा र चिप्सको प्याकेट खरिद गर्न जाँदा म त झण्डै मरिनँ ।’
यसअघि अघिल्लो हप्ता पनि दक्षिणपूर्वी जर्जिया राज्यमा एशियालीको स्पामा गोलीबारीको घटना भएको थियो जसमा ८ जनाकाे ज्यान गएकाे थियाे ।

























