लैनचौर र ऐकेडेमी मोडमा ट्राफिक लाइट, सवारी व्यवस्थापनमा सहज
वि.सं.२०७७ चैत १० मंगलवार १७:२८
shares
महानगरीय ट्राफिक प्रहरी महाशाखा र माछापुच्छ्रे बैंक लिमिटेड वीचको सहकार्यमा लैनचौर र ऐकेडेमी मोडमा ट्राफिक लाइटजडान गरी सोमबारदेखि सञ्चालनमा आएको छ । नयाँ जडान गरिएको ट्राफिक लाइट महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र माछापुच्छ्रे बैंक लिमिटेडका सीइओ सन्तोष कोइरालाले संयुक्त रूपमा उद्घा्टन गरेका हुन् । एसएसपी भट्टराईले काठमाडौं उपत्यकालाई सुरक्षित र सभ्य सहरको रुपमा अघि बढाउन, सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन, सवारी व्यवस्थापनमा अझै सहजता ल्याउन चोक चोकमा ट्राफिक लाइट जडानलाई तीव्रता दिएको बताए । प्रविधिमार्फत् सडक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरुको आवागमन सहज हुनुका साथै सडक अनुशासन र सडक सभ्यता झल्किने हुनाले यसलाई प्राथमिकता दिएको बताए ।
'हामी ट्राफिक व्यवस्थापनलाई प्रविधितर्फ लग्ने प्रयासरत छौं, यसको लागि सडक विभागबाहेक स्थानीय निकाय, बिभिन्न बैंक वित्तीय संघ संस्थाहरुसँग निरन्तर समन्वय सहकार्य गर्दै आइरहेका छौं ।' एसएसपी भट्टराई भने । उनका अनुसार सोमबारबाट लाइट जडान भएको र आगामी दिनहरुमा अन्य चोकहरुमा समेत ट्राफिक लाइट राख्न हातेमालो गर्ने योजनासमेत रहेको बताए ।
कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका सीइओ कोइरालाले सामाजिक उत्तरदायित्व बहन गर्दै आम सेवाग्राहीलाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक प्रयोगमा हुने समस्यालाई ट्राफिक लाइटले सहयोगी भूमिका खेल्ने र आगामी दिनहरुमा समेत ट्राफिक महाशाखासँग सहकार्य गर्ने बताए । उनले काठमाडौं उपत्यकामा भइरहेको सवारी चाप, सडक दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे ।
सीइओ कोइरालाले ट्राफिक लाइटको प्रयोगले ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । पछिल्लो समय महाशाखाले प्रविधिलाई जोड दिदै ट्राफिक लाइट जडानमा खेलेको भूमिकाको प्रशंसा गरे । उद्घाटन कार्यक्रममा महाशाखा प्रमुख, बैंकका सीइओ, डाइरेक्टर, का.म.न.पा. २ र ३ का वडा अध्यक्षहरु, बैंकका पदाधिकारी र अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
आजबाट सुरु भएका २ वटा ट्राफिक लाइटसमेत गरि महाशाखाले हालसम्म उपत्यकाको मुख्य मुख्य ३१ वटा चोकहरुमा ट्राफिक लाइटबाट ट्राफिक व्यवस्थापन गर्न सुरु गरेको छ । ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउदै दुर्घटना न्युनीकरणको लागि आगामी दिनहरुमा अन्य चोकहरुमा ट्राफिक लाइट जडानको लागि समन्वय एव सहकार्य गर्दै जाने महाशाखाले जनाएको छ । ट्राफिक लाइट सञ्चालनमा आएका चोकहरुमा लाइटको पूर्ण पालना गरिदिनु हुन सम्पूर्ण पैदलयात्री तथा सवारी चालकहरूलाई महाशाखाले विशेष अनुरोधसमेत गरेको छ ।

























